वि.सं. २०६६ सालमा स्थापना भएको जनता बैंक कान्छा वाणिज्य बैंक अन्तर्गत तेस्रो स्थानमा पर्छ । स्थापनाको मात्र सातौँ वर्षको कार्यकालमा चलिरहेको यस बैंकको प्रवद्र्धन तथा ग्राहक आकर्षण क्रमिक रुपमा बढिरहेको देखिन्छ ।
राष्ट्र बैंकले वित्तीय अवस्था सुधार तथा मजबुतिका लागि भनेर सबै वाणिज्य बैंकहरुलाई आगामी आर्थिक वर्ष ०७४ सम्ममा आ–आफ्नो बैंकको चुक्ता पुँजी ८ अर्व पुर्याउनै पर्ने व्यवस्था लागु गरेको छ । वाणिज्य बैंक भएको नाताले वजनता बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ, त्यो पनि आगामी असार मसान्तभित्रमा । हाल यो बैंकको चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँ रहेको छ ।
दुई असफल मर्जर
हाल जनता बैंकको चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँ मात्र छ । राष्ट्र बैंकले तोकेको मितिसम्म चुक्ता पुँजी ८ अर्व पुर्याउनका लागि मर्जरलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो बैंकको पुँजी वृद्धि योजना तयार गरेको जनता बैंकले सर्वप्रथम मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो । तर मेगासँग मर्जरमा गएर एकिकृत कारोबार गर्ने मौखिक सहमति लिखित सम्झौतामा कार्यान्वयन हुन नपाउँदै यी दुइ बैंकबीचको मर्जर प्रक्रिया यतिकैमा थन्किन पुग्यो । यसलगत्तै ०७२ असौज ३ गते माछापुच्छ्रे बैंकसँग मर्जरमा जाने र एकिकृत कारोबार संचालन गर्ने निर्णयका साथ यी दुइ वाणिज्य बैंकका अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यहाँ पनि सम्झौता पछिको सात महिनाको अथक प्रयासपछि अन्ततः यी दुइ बैंक बीचको मर्जर प्रक्रिया टुट्न पुग्यो ।
यसरी पुग्दैछ चुक्तापुँजी
दुईवटा मर्जर असफल भएपछि जनता बैंकले आफैँ आठ अर्ब चुक्तापुँजी पुर्याउने कम्मर कस्यो । जसअनुसार जनताले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रद सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक, जनताले ८२ करोड रुपैयाँ चुक्तापुँजी भएको त्रिवेणी विकास बैंकसँग शतप्रतिशत स्वाप रेसियोमा मर्जरमा जाँदैछ । उक्त मर्जर सम्पन्न भएपछि बैंकको चुक्तापुँजी चार अर्ब ९० करोडको हाराहारीमा पुग्नेछ । मर्जरपछिको चुक्तापुँजीबाटबैंकले पुनः ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । त्रिबेणी बिकास बैंकले जनता बैंकसँगको मर्जलाई अन्तिम रुप दिन आगामी फागुन १ गते चितवनको नारायणगढमा बोलाएको साधारणसभामा मर्जरपछि ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ । उक्त हकप्रद सेयर जारी गर्दा जनताको चुक्तापुँजी सात अर्ब ८० करोड रुपैयाँ नाघ्नेछ । यसबाहेक बैंकले ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर पनि जारी गर्दैछ । बैंकले हाल कायम चुक्तापुँजी दुई अर्ब छ करोड रुपैयाँको ४१ प्रतिशतले हुन आउने ८४ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । समग्रमा, मर्जर, हकप्रद र बोनस सेयर जारी गरेपछि जनता बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।


