Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्जा आवेदनको प्रगति हेर्न बैंक धाउनुनपर्ने, मुक्तिनाथले ल्यायो डिजिटल सेवा

२०८३ मंसिर १ गते

बैंकिङ खबर /  बैंकमा कर्जाका लागि आवेदन दिएपछि त्यसको प्रक्रिया कहाँ पुग्यो, कर्जा मूल्यांकन भइरहेको छ कि स्वीकृतिको चरणमा छ भन्ने जानकारी लिन अब ग्राहकले पटक-पटक बैंक धाउनुपर्ने छैन । मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्जा आवेदनको अवस्था घरमै बसेर हेर्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकलाई कर्जा आवेदनको प्रगतिबारे सहज रूपमा जानकारी उपलब्ध गराउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ (Loan Application Tracking) सेवा सुरु गरेको हो । यस सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ र त्यसको प्रक्रियामा के-कस्ता प्रगति भएका छन् भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।

नयाँ व्यवस्थाअनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र Loan Application Tracking ID प्रयोग गरी कर्जा आवेदनको अवस्था हेर्न सक्नेछन् । यसबाट कर्जा मूल्यांकन, स्वीकृति प्रक्रिया तथा आवेदनसँग सम्बन्धित पछिल्ला अद्यावधिक विवरणबारे जुनसुकै समय र स्थानबाट जानकारी लिन सकिने बैंकले जनाएको छ ।

यसअघि कर्जा आवेदनको अवस्थाबारे जानकारी लिन ग्राहकले सम्बन्धित शाखामा पुग्नुपर्ने वा फोनमार्फत सोधपुछ गर्नुपर्ने अवस्था थियो । नयाँ सेवाले त्यस्तो प्रक्रियालाई डिजिटल माध्यमबाट सहज बनाउने अपेक्षा गरिएको छ । अब ग्राहकले आफ्नो आवेदनको प्रगति आफैँ अनुगमन गर्न सक्ने भएकाले समय र श्रम बचत हुनुका साथै बैंकिङ प्रक्रियामा सूचनाको पहुँचसमेत बढ्ने देखिन्छ ।

बैंकले कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई एसएमएस (SMS) नोटिफिकेसनमार्फत समेत जानकारी दिने व्यवस्था गरेको छ । यसले आवेदनको अवस्था हेर्न वेबसाइटमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै ग्राहकलाई निर्णयसम्बन्धी जानकारी समयमै उपलब्ध गराउनेछ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा डिजिटल सेवाको विस्तार तीव्र भइरहेका बेला मुक्तिनाथ विकास बैंकले कर्जा प्रक्रियालाई समेत प्रविधिमैत्री बनाउने प्रयास गरेको हो । बैंकले डिजिटल रूपान्तरण तथा निरन्तर नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै सेवा प्रवाह, आन्तरिक प्रक्रिया र ग्राहक अनुभवलाई थप सरल तथा प्रभावकारी बनाउँदै आएको जनाएको छ ।

बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने उद्देश्यअनुरूप नयाँ सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकलाई छिटो, सहज, पारदर्शी र सुरक्षित बैंकिङ सुविधा उपलब्ध गराउने प्रतिबद्धताअनुसार डिजिटल माध्यमबाट सेवा विस्तारलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग केवल रकम स्थानान्तरण र भुक्तानीमा मात्र सीमित नरही कर्जा आवेदन तथा त्यसको प्रक्रियागत जानकारीसम्म विस्तार हुँदै गएको छ । मुक्तिनाथ विकास बैंकको नयाँ सेवाले पनि ग्राहकलाई कर्जा प्रक्रियाबारे जानकारी प्राप्त गर्न सहज बनाउने र बैंकिङ सेवालाई थप ग्राहककेन्द्रित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Ad