Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

असोजमा बैंकको ब्याजदरमा ब्रेक, ३ बैंकले घटाए, १७ यथावत

२०८३ भाद्र ३१ गते

बैंकिङ खबर /  भोलि अर्थात् २०८३ असोज १ गतेदेखि लागू हुने नयाँ ब्याजदरमा अधिकांश वाणिज्य बैंकले भदौकै दरलाई निरन्तरता दिएका छन् । २० वाणिज्य बैंकमध्ये तीन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १७ बैंकले दर परिवर्तन गरेका छैनन् ।

असोजका लागि ब्याजदर घटाउने बैंकमा नबिल बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । बाँकी बैंकले भदौमा कायम रहेको दरलाई नै निरन्तरता दिएका हुन् ।

नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५५ प्रतिशतबाट ०.३० प्रतिशत बिन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७६ प्रतिशतबाट ०.०३ प्रतिशत बिन्दुले घटाएर ३.७३ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशतबाट ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेका छन् ।

यससँगै असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा कम हुने बैंकको संख्या चार पुगेको छ । कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै सिटिजन्स बैंकले ३.८५ प्रतिशत तथा सिद्धार्थ बैंकले ३.७६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकले ४ प्रतिशतको दरलाई निरन्तरता दिएका छन् । एभरेष्ट बैंकले ४.०५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा कृषि विकास बैंक र नेपाल बैंकले ४.१५ प्रतिशत कायम गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत तथा प्रभु बैंकले ४.५५ प्रतिशतको अधिकतम व्यक्तिगत मुद्दती निक्षेप दरलाई निरन्तरता दिएका छन् ।

समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत भदौको ४.१४ प्रतिशतबाट असोजमा ४.१२ प्रतिशतमा झरेको छ । अर्थात् औसत दरमा ०.०२ प्रतिशत बिन्दुको मात्र कमी आएको छ ।

निक्षेपको लागत घटाउने दबाबमा बैंक

बैंकिङ प्रणालीमा निक्षेपको वृद्धि कर्जा विस्तारको तुलनामा उच्च रहँदा लामो समयदेखि तरलता पर्याप्त छ । लगानीयोग्य रकमको उपलब्धता बढेपछि बैंकहरूले आफ्नो कोष लागत घटाउन मुद्दती निक्षेपको ब्याजदरमा क्रमिक समायोजन गर्दै आएका छन् ।

तर अहिले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर नै न्यून तहमा पुगेकाले थप कटौतीको गति सुस्तिएको देखिन्छ । बचत निक्षेपको ब्याजदरमा रहेको न्यूनतम सीमाका कारण पनि बैंकहरूसँग लागत घटाउने विकल्प सीमित हुँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निक्षेप संकलन दर २.७५ प्रतिशत कायम गरेको छ । बचतको ब्याजदर उक्त सीमाभन्दा तल झार्न नसक्ने व्यवस्थाका कारण बैंकहरूले मुद्दती निक्षेपको दरमार्फत लागत व्यवस्थापन गरिरहेका छन् ।

तरलता पर्याप्त, कर्जाको मागमा सुधारको प्रतीक्षा

निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर रहँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको उपलब्धता उच्च छ । अतिरिक्त तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत प्रणालीबाट रकम खिच्दै आएको छ ।

यद्यपि चालू आर्थिक वर्षको सुरुवातसँगै कर्जाको मागमा केही सुधार देखिन थालेको बैंकिङ क्षेत्रको बुझाइ छ । चाडपर्व नजिकिँदै जाँदा व्यापारिक गतिविधि बढ्ने, आयात तथा एलसी कारोबारमा सुधार आउने र निजी क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने अपेक्षाले कर्जाको माग बढ्न सक्ने देखिएको छ ।

यही कारण असोजमा अधिकांश बैंकले ब्याजदर घटाउनुको सट्टा भदौकै दरलाई निरन्तरता दिएका छन् । आगामी महिनामा ब्याजदरको दिशा भने तरलताको अवस्था, कर्जाको माग र बैंकहरूको कोष लागतमा हुने परिवर्तनले निर्धारण गर्ने देखिन्छ ।