Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

बैंकको पैसा सुरक्षित छ, तर ग्राहकको लापरबाही कति जोखिमपूर्ण ?

२०८३ श्रावण २६ गते

बैंकिङ खबर / नेपालमा बैंकिङ कारोबारको ठूलो हिस्सा डिजिटल माध्यममा प्रवेश गरिसकेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल वालेट तथा कार्डमार्फत हुने कारोबारले बैंकिङ सेवा सहज बनाएको छ । तर डिजिटल कारोबार बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाले अर्को चुनौती पनि सामना गरिरहेका छन् – साइबर सुरक्षा । बैंकहरूले आफ्नो प्रणाली सुरक्षित बनाउन करोडौं रुपैयाँ खर्च गरिरहेका छन् । अत्याधुनिक प्रविधि, सुरक्षा प्रणाली, पासवर्ड सुरक्षा, बहुस्तरीय प्रमाणीकरण तथा कारोबार निगरानीजस्ता उपाय अपनाइएका छन् । तर यति धेरै सुरक्षा व्यवस्था हुँदाहुँदै पनि एउटा पक्ष कमजोर भयो भने सम्पूर्ण सुरक्षा प्रणाली जोखिममा पर्न सक्छ । त्यो हो – ग्राहकको सावधानी ।

साइबर अपराधीहरूले अहिले बैंकको प्रणाली तोड्नुभन्दा ग्राहकलाई नै आफ्नो निशाना बनाउने गरेका छन् । बैंकको कर्मचारी भएको भन्दै फोन गर्ने, केवाईसी अपडेट गर्नुपर्ने भन्दै लिंक पठाउने, खाता बन्द हुने डर देखाउने, पुरस्कार वा रोजगारीको प्रलोभन दिने तथा सामाजिक सञ्जालमार्फत नक्कली सूचना पठाउनेजस्ता माध्यमबाट ग्राहकको संवेदनशील विवरण हात पार्ने प्रयास भइरहेका छन् । विशेषगरी ओटीपी, पिन, पासवर्ड, कार्ड नम्बर तथा मोबाइल बैंकिङको विवरण अरूलाई उपलब्ध गराउनु सबैभन्दा ठूलो जोखिम हो । बैंकले आफ्ना ग्राहकसँग यस्ता विवरण कहिल्यै माग्दैन । तर ग्राहकले आफूलाई आएको फोन वा सन्देश वास्तविक हो कि होइन भनेर पुष्टि नगरी विवरण उपलब्ध गराउँदा अपराधीलाई खातासम्म पुग्ने बाटो खुल्न सक्छ । अझ पछिल्लो समय साइबर ठगीमा बैंक खाता प्रयोग गराउने अर्को जोखिम पनि देखिएको छ । केही व्यक्तिले पैसा आउने–जाने प्रयोजनका लागि आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न दिने गरेका छन् । कतिपयले सामान्य कमिसनको लोभमा खाता नम्बर, एटीएम वा अन्य बैंकिङ पहुँचसमेत अरूलाई उपलब्ध गराउने गर्छन् । यस्तो गतिविधिले व्यक्ति स्वयंलाई मात्र होइन, बैंकिङ प्रणालीलाई समेत जोखिममा पार्न सक्छ ।

ग्राहकको लापरबाहीको अर्को उदाहरण सार्वजनिक वा असुरक्षित नेटवर्कबाट बैंकिङ कारोबार गर्नु, मोबाइलमा अनधिकृत एप इन्स्टल गर्नु र बैंकिङ एपको पासवर्ड वा पिन मोबाइलमै असुरक्षित रूपमा राख्नु हो । मोबाइल हराएमा वा गलत व्यक्तिको हातमा परेमा यस्तो लापरबाही थप जोखिमपूर्ण बन्न सक्छ । तर यसको अर्थ साइबर सुरक्षाको सम्पूर्ण जिम्मेवारी ग्राहकको मात्र हो भन्ने होइन । बैंक तथा वित्तीय संस्थाले पनि सम्भावित जोखिम पहिचान गर्ने र शंकास्पद कारोबार तत्काल रोक्ने क्षमता बढाउनुपर्ने हुन्छ । ग्राहकले सामान्यतया नगर्ने अस्वाभाविक कारोबार, नयाँ उपकरणबाट भएको ठूलो रकमको स्थानान्तरण वा एकैपटक धेरै खातामा रकम पठाउने गतिविधिलाई प्रणालीले तत्काल पहिचान गर्न सक्ने व्यवस्था आवश्यक छ । बैंकिङ क्षेत्रमा साइबर अपराधको प्रकृति पनि निरन्तर परिवर्तन भइरहेको छ । आज प्रयोग भइरहेको ठगीको तरिका भोलि अर्कै स्वरूपमा आउन सक्छ । त्यसैले एकपटक सुरक्षा प्रणाली बनाएर पुग्दैन । बैंकहरूले नियमित रूपमा आफ्नो डिजिटल पूर्वाधारको सुरक्षा परीक्षण, कर्मचारीको क्षमता विकास र साइबर आक्रमणसम्बन्धी अभ्यास गर्नुपर्ने हुन्छ ।

त्यसैगरी बैंक तथा नियामक निकायले ग्राहकलाई सचेत बनाउने अभियानलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ । डिजिटल बैंकिङको विस्तारसँगै डिजिटल वित्तीय साक्षरता बढाउन नसकिएमा प्रविधिको सुविधा नै अपराधीका लागि अवसर बन्न सक्छ । ग्राहकले पनि केही आधारभूत सावधानी अपनाउने हो भने धेरै जोखिम कम गर्न सक्छ । अपरिचित लिंक नखोल्ने, ओटीपी तथा पिन कसैलाई नदिने, बैंकको आधिकारिक नम्बरबाहेक अन्य माध्यमबाट आएको सूचनामा विश्वास नगर्ने, शंकास्पद कारोबार देखिए तत्काल बैंकलाई जानकारी दिने र आफ्नो बैंक खाता अरूलाई प्रयोग गर्न नदिने जस्ता सामान्य सावधानी निकै महत्वपूर्ण हुन्छन् । बैंकको प्रणाली सुरक्षित हुनु मात्रै पर्याप्त छैन, बैंकिङ सेवा प्रयोग गर्ने व्यक्ति पनि सुरक्षित हुनुपर्छ । बैंकले डिजिटल ढोका बलियो बनाए पनि ग्राहकले आफैं चाबी अरूलाई दिए भने सुरक्षा कमजोर हुन्छ । त्यसैले अब बैंकिङ क्षेत्रमा साइबर सुरक्षा बैंक र प्रविधि कम्पनीको मात्र विषय रहेन । यो बैंक, नियामक र ग्राहक तीनै पक्षको साझा जिम्मेवारी बनेको छ । डिजिटल कारोबारको विस्तारसँगै सुरक्षा चेतना पनि विस्तार गर्न सकिए मात्रै डिजिटल बैंकिङप्रतिको विश्वास दीर्घकालीन रूपमा कायम राख्न सकिनेछ ।