बैंकिङ खबर / बैंकका लागि सवारीसाधन कर्जा तुलनात्मक रूपमा आकर्षक व्यवसाय बनेको छ । गाडी धितोमै रहने, कर्जाको संरचना स्पष्ट हुने र किस्ताबन्दीमा रकम असुल हुने भएकाले बैंकहरूले यस क्षेत्रमा जोखिम व्यवस्थापन गर्न सहज ठान्छन् । अर्कोतर्फ उद्योगमा जाने कर्जाको प्रकृति फरक हुन्छ । उद्योग स्थापना गर्न ठूलो लगानी चाहिन्छ । लगानीको प्रतिफल आउन समय लाग्छ । बजारको माग, उत्पादन लागत, कच्चा पदार्थ, विद्युत्, श्रम, आयात–निर्यात नीति र प्रतिस्पर्धाजस्ता धेरै विषयले उद्योगको नगद प्रवाह प्रभावित गर्न सक्छन् । त्यसैले बैंकका लागि उद्योग कर्जा तुलनात्मक रूपमा बढी जोखिमयुक्त देखिन्छ । तर बैंकको जोखिम व्यवस्थापन र अर्थतन्त्रको आवश्यकता एउटै ठाउँमा उभिन नसक्दा समस्या पैदा हुन्छ । बैंकले जोखिम कम भएको ठाउँमा मात्र पैसा लगाउने हो भने अर्थतन्त्रको उत्पादन क्षमता विस्तार गर्ने जोखिमपूर्ण तर आवश्यक क्षेत्रमा कर्जा कसरी पुग्छ भन्ने प्रश्न उठ्छ ।
उपभोगमा कर्जा, उत्पादनमा कर्जा खोइ ?
गाडी खरिदका लागि कर्जा जाँदा त्यसले तत्काल बजारमा आर्थिक गतिविधि बढाउँछ । गाडी बिक्री हुन्छ, बीमा हुन्छ, अटो पार्ट्सको कारोबार हुन्छ, मर्मत तथा सर्भिसिङको व्यवसाय चल्छ । यसले रोजगारी र कर राजस्वमा पनि योगदान गर्छ । तर उद्योगमा जाने कर्जाको प्रभाव अझ फराकिलो हुन्छ । एउटा उद्योगले बैंकबाट ऋण लिएर मेसिन खरिद गर्छ । उत्पादन सुरु गर्छ । त्यसका लागि कच्चा पदार्थ खरिद गर्छ । कामदार राख्छ । विद्युत् खपत गर्छ । उत्पादन बजारमा पठाउँछ । कर तिर्छ । नयाँ रोजगारी सिर्जना गर्छ । सम्भव भए निर्यात गर्छ र आयात प्रतिस्थापन गर्छ । अर्थात् उपभोगका लागि गएको कर्जाले बजार चलाउँछ भने उत्पादनका लागि गएको कर्जाले अर्थतन्त्रको क्षमता बढाउँछ ।
यही अन्तरका कारण बैंकिङ प्रणालीको कर्जा कुन क्षेत्रमा कति गइरहेको छ भन्ने विषय सामान्य बैंकिङ कारोबारको विषय मात्र होइन, अर्थतन्त्रको भविष्यसँग जोडिएको विषय हो ।
उद्योगी किन बैंकबाट टाढिँदैछन् ?
उद्योगीहरूको गुनासो ब्याजदरमा मात्र सीमित छैन । अहिले बैंकमा पर्याप्त तरलता रहे पनि उद्योगीले आफूले चाहेजति कर्जा पाउन नसकेको गुनासो गर्दै आएका छन् । उद्योगीका लागि अर्को समस्या भनेको कर्जाको मूल्यांकन प्रक्रिया हो । बैंकले उद्योगको विगतको वित्तीय विवरण, कारोबार, नगद प्रवाह र धितोको मूल्यांकन गर्छ । तर अहिलेको कमजोर बजार माग र घट्दो व्यावसायिक आत्मविश्वासका कारण धेरै उद्योगको वित्तीय अवस्था अपेक्षाकृत कमजोर छ ।
बैंकले जोखिम देख्छ ।
उद्योगीले अवसर देख्छ ।
यही दुई दृष्टिकोणबीचको दूरी अहिले नेपालको कर्जा बजारको ठूलो समस्या बनेको छ । उद्योगी भन्छन्—‘बैंकसँग पैसा छ, ब्याजदर पनि घटेको छ, तर ऋण लिन खोज्दा अनेक सर्त छन्।’ बैंकको जवाफ हुन्छ—‘कर्जा दिएपछि फिर्ता हुने सुनिश्चितता पनि त हुनुपर्छ।’ दुवै पक्षका तर्क आफ्नै ठाउँमा सही छन् । तर यसको समाधान निस्कन नसक्दा उत्पादन क्षेत्र विस्तार हुन सकिरहेको छैन । तर प्रश्न के हो भने जोखिम व्यवस्थापन गर्ने नाममा उत्पादनमूलक क्षेत्रमा कर्जा नै नजाने अवस्था सिर्जना गर्ने कि जोखिम बाँडफाँट गरेर कर्जा विस्तार गर्ने ? यसको जवाफ बैंक मात्र होइन, सरकार र नेपाल राष्ट्र बैंकले पनि खोज्नुपर्ने अवस्था छ ।
नेपालमा लामो समयदेखि उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउनुपर्ने बहस हुँदै आएको छ । राष्ट्र बैंकले विभिन्न क्षेत्रमा कर्जा प्रवाहका लागि नीतिगत व्यवस्था पनि गर्दै आएको छ । तर नीतिले तोकेको कर्जा र वास्तवमै उद्योगीले सहज रूपमा पाएको कर्जाबीच फरक हुनु हुँदैन । कागजमा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढेको देखिए पनि वास्तविक उद्योगीले बैंकबाट कर्जा लिन नसकेको अवस्था छ भने त्यसको मूल्यांकन गर्न आवश्यक हुन्छ । अहिलेको चुनौती बैंकसँग पैसा छैन भन्ने होइन । पैसा छ, ब्याजदर घटेको छ, तर पैसा उत्पादन गर्ने क्षेत्रमा कसरी पुर्याउने भन्ने समस्या छ ।
नाइमा अटो एक्स्पोमा बैंकहरूका सवारीसाधन कर्जा योजना ग्राहकका लागि आकर्षण बन्नेछन् । बैंकहरूबीचको प्रतिस्पर्धाले ग्राहकलाई फाइदा पनि पुग्नेछ । तर यही एक्स्पोले बैंकिङ क्षेत्रका लागि अर्को प्रश्न पनि खडा गरेको छ ।
यदि गाडी किन्नेलाई सस्तो ब्याजदरमा कर्जा दिन बैंकहरू तयार छन् भने नेपालमै उत्पादन गर्ने उद्योगीलाई पनि त्यस्तै आत्मविश्वासका साथ कर्जा दिन किन सकिँदैन ? उद्योगीले बैंकबाट कर्जा लिएर उद्योग खोल्छ भने त्यो कर्जा केवल एउटा व्यक्तिको उपभोगमा सीमित हुँदैन । त्यसले दर्जनौँ, सयौँ मानिसलाई रोजगारी दिन सक्छ । आपूर्तिकर्ताको व्यवसाय चलाउन सक्छ । सरकारलाई कर तिर्न सक्छ । आयात घटाउन सक्छ ।
तर गाडी किन्न लिएको कर्जाले मुख्यतः एउटा उपभोक्ताको खरिद क्षमता बढाउँछ । त्यसैले यहाँ गाडी कर्जा खराब र उद्योग कर्जा राम्रो भन्ने सरल निष्कर्ष निकाल्न खोजिएको होइन । प्रश्न कर्जाको सन्तुलनको हो । बैंकिङ प्रणालीको प्राथमिकता बदल्नुपर्ने हो ? तर गाडी बेच्ने बजार विस्तार भइरहँदा गाडी बनाउने, पार्टपुर्जा उत्पादन गर्ने, कृषि प्रशोधन गर्ने, औद्योगिक वस्तु उत्पादन गर्ने र निर्यात गर्ने उद्योग कमजोर हुँदै गए भने दीर्घकालमा अर्थतन्त्र बलियो बन्न सक्दैन ।


