सोमबार र मंगलबार गरी दुई दिनमा नै ६७.८४ अंकले घटेको बजार बुधबार भने हरियो भएको छ । दिनभरिमा घटबढ भइरहेको बजार अन्ततः ५.६२ अंकको वृद्धिसँगै १४१३.१५ अंकमा पुगेर बन्द भएको हो । बुधबार कारोबार भएका सबै समूहहरु हरियो भएका छन् । सबैभन्दा धेरै होटल समूह ३९.४५ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः २.६८, १२.२५, ३०.७१, ३.५६, २९.७१ र ०.५८ अंकले बढेका छन् ।
नेपाल स्टक एक्सचेन्जले बैंक तथा वित्रीय संस्थालाई ब्रोकर लाइसेन्स दिने र ब्रोकरहरुलाई उपत्यकाबाहिर पनि कारोबार गर्ने अनुमति दिने लगायतको प्रक्रिया अघि बढाइएको जानकारी गराएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । त्यस्तै, बुधबारदेखि सेयर बजारको व्यवस्थापन र स्थायित्वको लागि भन्दै सेयर लगानीकर्ता संघले सुरु गरेको शान्तिपूर्ण आन्दोलन पनि सेयर बजार बढाउन मद्दत गरेको देखिन्छ ।
बजार घटेपनि लगानीकर्ता भने अझै पनि अन्यौलमा नै रहेका छन् । फलस्वरुप, कारोबार ४६ करोडमा नै सीमित भएको छ । दिनभरिमा १२८ वटा कम्पनीको १४ लाख ९१ हजार छ सय ५४ कित्ता सेयर चार हजार ४७ पटक खरिदविक्री हुँदा क्ुल ४६ करोड १२ लाख ८८ हजार आठ सय १० रुपैयाँ पुँजी परिचालन भएको हो । मंगलबार ५९ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
बुधबार नेको इन्स्योरेन्सको सबैभन्दा धेरै तीन करोड ९६ लाख ७५ हजार आठ सय ८९ रुपैयाँको कारोबार भएको छ भने एभरेष्ट बैंकको दुई करोड ३० लाख ६६ हजार पाँच सय आठ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक र नेपाल बंगलादेश बैंकको एक करोड ९५ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको पौने दुई करोडभन्दा माथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको डेढ करोडमाथिको कारोबार भएको छ । कैलाश विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, ज्योति विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको पनि एक करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बुधबार पनि एनबि इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ८.१३ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने नेपल इन्स्योरेन्सका सेयरधनीले ६.०४, ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले ५.५३, वेस्टर्न डेभलपमेन्ट बैंकका सेयरधनीले ५.२६ र एनएलजी इन्स्योरेन्सका सेयरधनीले ५.१७ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको ललितपूर फाइनान्सका सेयरधनीले ६.४८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । युनियन फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, भार्गव विकास बैंक, प्रडेन्सियल इन्स्योरेन्स, लक्ष्मी भ्यालु फण्ड १, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।




