
बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीमाथि प्रश्न उठ्दै गएको बेला सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाविरुद्ध छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा समिति गठन गरिएको एक मन्त्रीले जानकारी दिए। समितिमा अन्य दुई सदस्यको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। सरकारले अध्यक्ष ओझाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै छानबिन सुरु गरेको हो। खासगरी प्राधिकरणको नेतृत्व सम्हालेपछि ओझाको निर्णय प्रक्रिया, कार्यशैली र आन्तरिक व्यवस्थापनमा देखिएको असमझदारी र आलोचनाका कारण सरकार दबावमा आएको बताइएको छ।
शरद ओझालाई सरकारले गत फागुन १२ गते बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। उनले पदभार सम्हालेको केही महिनामै विवाद सिर्जना भएपछि सरकारले यस्तो निर्णय लिएको हो। समितिले छानबिन प्रतिवेदन तयार पारेर तोकिएको समयभित्र सरकारसमक्ष बुझाउने छ। उक्त प्रतिवेदनका आधारमा ओझाविरुद्ध थप कारबाही गर्ने वा नगर्ने विषयमा निर्णय गरिनेछ।


