२०८० पुष १७ गते

क्रिप्टोकरेन्सीको मूल्य २१ महिना यताकै उच्च

बैंकिङ खबर/ सन् २०२४ को सुरुवातमै बिटकोइनको मूल्य २१ महिना यताकै उच्च पुगेको छ । सन् २०२१ को नोभेम्बर महिनामा क्रिप्टोकरेन्सीहरुको अग्रणी क्रिप्टोकरेन्सी–बिटकोइनको मूल्य शीर्ष उचाइमा पुगेको थियो । प्रति कोइन ६९ हजार अमेरिकी डलर पुगेको बिटकोइनको मूल्य सन् २०२२ मा घटेर १६ हजार पुगेको थियो । तथापि सन् २०२४ को जनवरीको सुरुवातमै बिटकोइन ४५ हजार ७६५ डलर पुगेको छ ।

सन् २०२२ को मार्च महिनादेखि आक्रामक शैलीमा अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाएका कारण त्यसको प्रभाव क्रिप्टोमार्केटमा देखिएको थियो । साथै विश्वका शीर्ष धनाढ्य व्यक्ति एलन मस्कले बिटकोइनबाट टेस्ला कारहरुको भुक्तानीमा प्रतिबन्ध लगाउँदा क्रिप्टोकरेन्सीको कारोबार खस्किएको थियो। जसकारण सन् २०२२ मा बिटकोइनको मूल्य ७५ प्रतिशत भन्दा धेरैले खस्किएको थियो ।

सन् २०२२ को डिसेम्बर महिनामा बिटकोइनको मूल्य १६ हजार ५२९ डलर थियो । तर सन् २०२३ को डिसेम्बर अन्तिममा आइपुग्दा ४२ हजार ३१४ डलर पुगेको छ। यसरी एक वर्षको अवधिमा बिटकोइन १५६ प्रतिशतले बढेको छ । यस्तै सन् २०२४ को जनवरी २ मा बिटकोइनको मूल्य ३ हजार ४५१ डलरले बढेर ४५ हजार डलर नाघेको छ ।

फेडले सन् २०२४ मा आक्रामक शैलीमा बढाएको ब्याजदर घटाउने संकेत गरेको छ । ब्याजदर कम हुँदा मानिसहरुको ऋण लिएर लगानी गर्न सक्ने वातावरण सिर्जना हुन्छ । जसकारण मानिसहरुले क्रिप्टोकरेन्सीमा लगानी गर्छन् र माग बढ्दै जाँदा क्रिप्टोको मूल्य समेत बढ्दै जान्छ ।

यस्तै इथेरियम ब्लकचेन नेटवर्कले सञ्चालन गरिरहेको इथरको मूल्य सन् २०२३ मा ९१ प्रतिशतले बढेको छ । हाल इथर प्रति कोइन २ हजार ४१४ डलरमा कारोबार भइरहेको छ । यसअघि सन् २०२१ को नोभेम्बर महिनामा इथरको मूल्य ४ हजार ६४४ डलर थियो । तथापि सन् २०२२ मा इथरको मूल्य खस्किएर ९९३ डलर पुगेको थियो । हाल इथर २ हजार ४१४ डलर प्रति कोइनमा कारोबार भइरहेको छ ।