नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको बाध्यकारी व्यवस्था लागू गरेपछि अहिले पुँजी वृद्धि गर्न बैंक तथा वित्तीय संस्थाले अनेक ‘टेक्निक’ अपनाइरहेका छन् । त्यसका लागि कसैले अन्य संस्था ‘एक्वायर’ गरिरहेका छन् भने कसैले हकप्रद र बोनश सेयर जारी गर्दै चुक्ता पुँजी पुर्याउने कसरत गरिरहेका छन् । त्यसरी चुक्ता पुँजी नपुग्ने बैंक तथा वित्तीय संस्थाहरुले मर्जरको अन्तिम विकल्प रोजिरहेका छन् । राष्ट्र बैंकले दिएको जानकारी अनुसार अहिले झण्डै चार दर्जन बैंक तथा वित्तीय संस्थाले मर्जरका लागि राष्ट्र बैंकसँग स्वीकृति मागेका छन् । केही हप्ताअघि केही बैंक तथा वित्तीय संस्थाले मर्जरका लागि स्वीकृति पाएपनि ४५ वटा बैंक तथा वित्तीय संस्था स्वीकृतिको पर्खाइमा बसेका हुन् । ‘४५ वटा बैंक तथा वित्तीय संस्थाले मर्जरका लागि राष्ट्र बैंकसँग स्वीकृति मागेका छन् ।’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘सञ्चालक समितिको बैठकपछि ती संस्थाको आवेदनमा निर्णय हुनेछ ।’
एनसीसी बैंकले चार वटा विकास बैंकलाई गाभ्ने गरी स्वीकृति मागेको छ । मर्जरको स्वीकृति माग्नेमध्ये अधिकांश विकास बैंक रहेको राष्ट्र बैंक श्रोतले जनाएको छ । मर्जरका लागि स्वीकृति मागेका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृति दिनुपर्छ । मर्जर स्वीकृतिका लागि आवेदन दिएका बैंक तथा वित्तीय संस्थाको मर्जर पुरा हुन प्रत्येक संस्थाको फाइल कम्तिमा तीन पटक सञ्चालक समितिमा पेश हुनुपर्छ र त्यसबारे सञ्चालक समितिले निर्णय दिनुपर्छ । बैंक तथा वित्तीय संस्थाको स्थलगत अनुगमन रिपोर्टलाई सञ्चालक समितिले अन्तिम रुप दिएपछि कार्यान्वयनमा जाने गर्छ । त्यसका लागि चाँडै सञ्चालक समितिको बैठक बसेर निर्णय हुने राष्ट्र बैंक उच्च श्रोतले जनाएको छ ।


