Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक नहुँदा मुस्ताङका जनताले राहदानी पाएनन्

२०७३ कार्तिक १८ गते

मुस्ताङ – लोमान्थाङमा बैंक तथा वित्तीय संस्था नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न सकेको छैन । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारण हप्तादिन लगाएर सदरमुकाम जोमसोम झर्नुपर्ने बाध्यता हट्न सकेको छैन । 

असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिए पनि राहदानीको काम गर्न नसकेको कार्यालय प्रमुख जितेन्द्र बलामीले जानकारी दिए । “यहाँ कुनै पनि बैंक तथा वित्तीय संस्था छैनन् । रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सक्दैनौँ”, उनले भने, “यसका लागि सर्वसाधारण सदरमुकाममा नै जानुपर्छ ।” इलाका प्रशासन कार्यालयबाट नागरिकता, विभिन्न सङ्घसंस्था दर्ता तथा नवीकरणका काम हुने भएपनि राहदानीका काम तत्काल स्थगित गरिएको प्रमुख बलामीले जानकारी दिए । 

इलाका प्रशासन कार्यालयले एक महिनामा २२ वटा नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको जनाएको छ । आठ नयाँ र १४ वटा प्रतिलिपि नागरिकता वितरण गरिएको हो । राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको प्रशासनले जनाएको छ । 

राहदानी बाहेकका अन्य सरकारी काम लोमान्थाङबाटै उपलब्ध हुने भएपछि लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका करिब पाँच हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । रासस