शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउने विषयलाई कार्यान्वयनमा ल्याइने भएको छ । शिक्षा मन्त्रालयले अबको तीन महीनाभित्रमा नै उक्त विषयलाई कार्यान्वयनमा ल्याउने गरी गृहकार्य थालेको जनाएको छ ।
शिक्षा मन्त्रालयद्वारा हालै सार्वजनिक चालू आर्थिक वर्षको १९ बुँदे कार्ययोजनामा शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत दरमा ऋण उपलब्ध गराउन तीन महिनाभित्रमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याउने उल्लेख छ । अघिल्लो सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण दिने विषयलाई उठाएको थियो । सोही विषयलाई कार्ययोजनामा जोड दिइएको बताइएको छ ।
त्यसो त, कतिपय बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउन सुरु पनि गरिसकेका छन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने सरकारको घोषणा कार्यान्वयन हुन नसक्ने बैंकहरुले नै बताईरहेका बेला केही बैंकले भने सो योजना कार्यान्वयनको थालनी गरेर देखाएका छन् । नीति तथा कार्यक्रम अनुसार सरकारले बजेटमा पनि उच्च शिक्षा अध्ययनका लागि बैंकबाट ऋण मिलाउने घोषणालाई निरन्तरता दिएको थियो । तर बैंकहरुले यस्तो ऋण दिन नसकिने बताइरहेका बेला एनएमबी बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नयाँ कार्यक्रम सुरु गरेका छन् ।
नेपाल बंगलादेश बैंकले चाटर्ड एकाउन्टेन्ट बढ्ने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका सीइओ ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष महेश खनालले विद्यार्थीरुलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी समझादारीपत्रमा हस्ताक्षर गरेका छन् । शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने व्यवस्था मिलाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले यो योजना सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताएका छन् । यस कर्जा योजनाले सीए पढेने विद्यार्थीहरुलाई आफ्नो शैक्षिक गतिविधि सहजताका साथ सम्पन्न गर्न सहयो हुने आइक्यानका उपाध्यक्ष खनालले बताए । सम्झौताअनुसार आइक्यानले सञ्चालन गर्ने सीए शिक्षाको अन्तिम तहमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनको क्रममा सहुलियत दरमा ३ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपलब्ध गराइने छ । उक्त कर्जा लिनका लागि विद्यार्थीले सीएकै मध्यम तह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राख्नुपर्ने छ ।
यसअघि साउन अन्तिम साता एनएमबी बैंकले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बनधी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । हिमालय कलेजमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशत सहुलियतपूर्ण कर्जा पाउने भएका हुन् । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने विद्यार्थीले आफ्नो अवस्थाअनुसार ५ देखि ८ प्रतिशत ब्याज बुझाउनुपर्नेछ ।
यस्तै प्रभु बैंक लिमिटेडले पनि कालीमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरिसकेको छ । काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउन बैंक र कलेजबीच भदौ पहिलो साता सम्झौता भईसकेको छ । सम्झौताबमोजिम काठमाडौ इन्जिनियरिङ कलेजमा इन्जिनियरिङसंकायअन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आप्mनो एसएलसीदेखिका सबै सक्कल शैक्षिक प्रमाणपत्र बैंकमा बुझाउनुपर्नेछ । कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिकाअनुसार चार वर्ष्िभत्र चुक्ता गरी विद्यार्थीले प्रमाणपत्र फिर्ता लैजान सक्ने बैंकले जनाएको छ ।




