ज्योति विकास बैंक र झिमरुक विकास बैंक लि. एकआपसमा गाभिएर बनेको नयाँ संस्था ज्योति विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ११.७० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको विहीबार बसेका २५४ औं संचालक समितिको बैठकले गत आ.व.को मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भई वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने समेत बैंकले जानकारी गराएको छ ।
बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप पुँजी बढाउनका लागि बोनस दिन लागेको हो । ज्योति विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । नेपाल राष्ट्र बैंकबाट जारी पूँजी योजना अनुसार २०७४ आसार मसान्तसम्ममा राष्ट्रिय स्तरको विकास बैंकले साढे दुई करोड पुँजी पुर्याउनुपर्ने हुन्छ । यसका लागि बैंकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबाट शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । यसबाट पनि नपुगेको पुँजी बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस जारी गरेर पुर्याउने योजना बनाएको छ ।



