ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज हुने भएका छन् । यी दुई बैंकले मर्जरमा जानको लागि सैद्धान्तिक सहमति गरेका छन् । सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ओम डेभलपमेन्ट बैंक लि. रहनेछ । मर्जरपछि बैंकको अध्यक्षमा ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा, ओम डेभलपमेन्ट बैंकका बिश्व मोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ओम डेभलपमेन्ट बैंकका बुद्धि मल्ल र सहायक महाप्रवन्धकमा मनास्लु विकास बैंकका निमित्त महाप्रवन्धक दुर्गा राम पुरी रहनेछन् ।
मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड, कर्जा १२ अर्ब ६१ करोड पुग्नेछ भने ३६ वटा शाखा हुनेछन् । ओम डेभलपमेन्ट बैंकको प्रधान कार्यालय पोखरा र मनास्लु विकास बैंकको प्रधान कार्यालय गोरखामा रहेको छ । मर्जर पछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ । हालसालै ओमको सञ्चालक समितिले २९.२० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारण सभाले दुबै संस्थाको बोनश शेयर पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६८ करोड पुग्नेछ ।



