२०७३ आश्विन १९ गते

चुक्ता पुँजी ‘छ अर्ब’ नघाएका पाँच बैंकहरु

coinति बेला प्रायः बैंकहरु पुँजीवृद्धिमा व्यस्त छन् । सबै वाणिज्य बैंकहरुले आफ्नो चुक्तापुँजी बढाएर आठ पुर्याउनुपर्ने भनि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको समयावधि सकिन नौ महिनाभन्दा पनि कम समय बाँकी छ । यसका लागि क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुलाई गाभ्ने, हकप्रद शेयर जारी गर्ने, वोनश शेयर दिने लगायतका उपकरणहरुबाट बैंकहरुले चुक्ता पुँजी बढाइरहेका छन् । राष्ट्र बैंकको नीति आउनुभन्दा पहिले नै राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा बढी थियो । यी दुवै सरकारी स्वामित्वमा रहेका बैंकहरु हुन् । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको चुक्तापुँजी १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ रहेको छ । अन्य केही बैंकहरु पनि चुक्तापुँजी नजिक पुगिसकेका छन् ः

नेपाल इन्भेष्टमेन्ट बैंक
हाल सात अर्ब २५ करोड रुपैयाँ चुक्तापुँजी भएको नेपाल इन्भेष्टमेन्ट बैंक २१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरणको अन्तिम चरणमा छ । उक्त वोनस वितरणका लागि बैंकले राष्ट्र बैंकबाट स्विकृति पाएर साधारसभाबाट पारित पनि गराइसकेको छ । उक्त बोनस वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । यससँगै इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याएपछि आठ अर्ब पुर्याउने निजीस्तरको पहिलो बाणिज्य बैंक बन्नेछ ।

नेपाल बैंक
नेपाल बैंकको हाल ६ अर्ब ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी छ । बैंकले हकप्रद शेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी ८ अर्ब पुर्याउने बताएको छ । बैँकले सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । जसबाट १ अर्ब ५७ करोड रुपैयाँ पुँजी जुटाउने जनाएको छ । यसबाट नपुगेको पुँजी बैँकले मर्जर, एक्वीजीशन, टेकओभर तथा रणनीतिक साझेदार थपेर बढाउने योजना बनाएको छ । 

ग्लोबल आईएमई बैंक
हाल ग्लोबल आईएमई बैंकको चुक्तापुँजी ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ । जसबाट बैंकले १६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारी गरेपछि सेयरधनीले पाउनेछन् । सेयरधनीलाई उक्त वोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब १४ करोडको हाराहारीमा पुग्नेछ । हालै बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता गरेको छ भने त्यसअघिदेखि नै प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रियामा छ । उक्त एक्विजिसनपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । 

प्रभु बैैंक
हाल प्रभु बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको न्युनतम पुँजी पुर्याउन यो बैंकलाई २ अर्बभन्दा बढी पुँजीको आवश्यकता छ । गत आर्थिक वर्षमा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको प्रभु बैंकलाई पनि पुँजी पुर्याउन गाह्रो देखिँदैन । त्यसमाथि बैंकले ६४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरिसकेको छ । त्यसैले प्रभु बैंकले सजिलै ८ अर्ब पुँजी पुर्याउनेछ । 

नेपाल बंगलादेश बैंक
हाल तीन अर्ब चार करोड रुपैयाँ चुक्तापुँजी रहेको नेपाल बंगलादेश बैंकले ३२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.७ प्रतिशत नगद लाभांश र ८० प्रतिशत हकप्रद सेयर पारीत गर्नका लागि साधारणसभा बोलाईसकेको छ । बैंकले हाल कायम चुक्तापुँजीको ३२ प्रतिशत बोनस सेयर दिने र वोनस वितरणपश्चात् कायम हुने चुक्तापुँजीबाट ८० प्रतिशत हकप्रद दिने प्रस्ताव अघि सारेको थियो । जसअनुसार, वानेस वितरणपश्चात् बैंकको पुँजी झन्डै चार अर्ब पुग्नेछ । उक्त चुक्तापुँजीबाट ८० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको पुँजी सात अर्ब नाघ्नेछ । बाँकी पुँजी बैंकले चालू आर्थिक वर्षको नाफाबाट वानेस सेयर दिएर पुर्याउन सक्ने देखिन्छ ।