कुमारी बैंकले पुँजी वृद्धिका लागि चार वटा वित्तीय संस्था किन्ने सम्झौता गरेको छ । कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । एक्वायरसम्बन्धी सम्झौतापत्रमा कुमारीका मर्जर कमिटी संयोजक डा. शोभाकान्त ढकाल, काष्ठमण्डपका मर्जर कमिटी संयोजक कृष्ण ज्ञवाली, महाकालीका सञ्चालक डिलाराम खरेल, काँक्रेबिहारका सञ्चालक राजकुमार गुरुङ र पश्चिमाञ्चलका सञ्चालक ज्ञानेन्द्र कसजूले आइतबार साँझ हस्ताक्षर गरे ।
एनसीसी बैंकसँगको मर्जर तोडिएपछि कुमारीले आफै चुक्ता पूँजी पुर्याउन भन्दै यसअघि ५० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरिसकेको छ । हाल कुमारीको २ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेकोछ । हकप्रद निष्काशनपछि बैंकको पुँजी चार अर्ब हाराहारीमा पुग्नेछ । मर्जरअघि नै काष्मण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्नछ । काष्ठमण्डपले जारी गर्ने २५ प्रतिशत हकप्रद तथा काष्ठमण्डपले यसअघि एक्वायर गर्ने सम्झौता गरेका महाकालि विकास, पश्चिमाञ्चल फाइनान्सको समेत गर्दा एक अर्ब ७० करोड रुपैयाँ पुँजी थपिनेछ । काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने महाकाली विकास बैंकको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । त्यस्तै पश्चिामाञ्चल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ भने काक्रे विहार विकास बैंकको ६ करोड रुपैयाँ पूँजी रहेको छ ।
यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी, देशभर ८० वटा शाखा पुग्नेछन् ।
