नेपालको कुल जनसंख्यामध्ये एकचौथाइको मात्र वित्तीय संस्थामा खाता रहेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विश्व बैंकको पछिल्लो अध्ययनका अनुसार कुल नेपालीमध्ये २५.३ प्रतिशतको मात्र बैंक खाता छ । अझै पनि दुई करोडभन्दा बढी नेपालीको वित्तीय संस्थामा खाता नभएको अध्ययनले देखाएको छ ।
तर, विप्रेषण प्राप्त गर्नेमध्ये भने दुईतिहाइ नेपालीको बैंक खाता छ । विश्व बैंकका अनुसार एकतिहाइ नेपालीले विप्रेषण प्राप्त गर्छन् । नेपाल राष्ट्र बैंकको विप्रेषण आय उपभोगसम्बन्धी अध्ययनले वैदेशिक रोजगारमा गएका कुल घरपरिवारमध्ये ६४.१ प्रतिशत घरमूलीको एक वा एकभन्दा बढी बैंकमा खाता रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण प्राप्त गर्नेमध्ये सहर तथा सहरोन्मुख क्षेत्रमा बसोवास गर्ने ७२.१ प्रतिशत घरमूलीको बैंक खाता छ भने ग्रामीण क्षेत्रमा बसोवास गर्ने ५८.२ प्रतिशत घरमूलीको मात्र बैंकखाता छ । वैदेशिक रोजगारमा गएका व्यक्तिलाई बैंकमा रकम पठाउन सहज हुने कारण बैंक खाता हुने घरमूलीको अंश उच्च देखिएको हो ।


