ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौ जिल्लामा रजिष्टर्ड कार्यालय रहेको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरे । दुवै बैंकविच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी आठ अर्व रुपैयाँभन्दा बढी हुनेछ भने कुल निक्षेप ८८ अर्व रुपैयाँ, कर्जा लगानी ७४ अर्व रुपैयाँ र शाखा कार्यालय एक सय ११ वटा पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजीँ आठ अर्व पुग्ने यो बैक दोस्रो हुनेछ । आठ अर्ब पुँजी पुर्याउने निजीस्तरको पहिलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।
यसबाहेक ग्लोबल आईएमई बैंक प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रियामा छ । यी दुई संस्थाबिच गत असार एक गते एक्विजिसन गर्ने सहमति भएको थियो । यसअघि नै बैंकले साविकको कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १० वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।


