Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बीग मर्जरले थपिएका चुनौतीहरु

२०७९ भाद्र ७ गते

बैंकि खबर/ नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चर्चा र जनचासोको विषय बनेको छ । शाखा सञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै वास्तवमा ‘मर्जर’ हो ।

सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने गरिन्छ । यी दुई प्रक्रियाका कारण नेपालमा वित्तीय संस्थाको संख्या घट्ने प्रक्रिया जारी छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले कमजोर तथा साना बैंकहरूलाई मर्जर वा एक्विजिसनमा पठाएर बैंकको हालको संख्यालाई करिब आधामा झार्ने नीति अख्तियार गरेको छ ।

२०६१ साउनमा लक्ष्मी बैंक र हाइसेफ फाइनान्सको एकीकृत कारोबारसँगै सुरु भएको नेपाली बैंक तथा वित्तीय संस्थाहरूको मर्जलाई सहजीकरण गर्न मर्जर विनियमावली, २०६८ ल्याइयो । त्यसपछि आएको बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) ले यसलाई व्यवस्थित गरेको पाइन्छ ।

सैद्धान्तिक रूपमा मर्ज वा एक्विजिसनको मूल उद्देश्य फरक फरक भूगोलमा रहेका संस्था एकआपसमा जोडिएर पुँजीगत रूपमा सबल बन्दै व्यावसायिक रूपमा फैलिएर मुनाफा वृद्धि गर्नु हो । विनियमावलीले पनि मर्ज वा एक्विजिसनबाट मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संवद्र्धन गरी बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने मूल उद्देश्य राखेको छ ।

साना–ठूला र समान तहका बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जको अनुभव र प्रयोग गरिसकेको नेपाली वित्तीय क्षेत्रमा हाल ठूला वाणिज्य बैंकहरू गाभिएर झन् ठूला बैंकहरू बनाउने ठूला मर्ज वा विलय (बिग मर्ज) को सम्भावना र आवश्यकतामा विभिन्न कोणबाट अनौपचारिक चर्चा–परिचर्चासँगै हुने गरेका छ । ‘बिग मर्ज’ अन्तर्गत ठूला वाणिज्य बैंकहरूबीच मर्ज वा विलयबाट अहिलेको भन्दा डेढ वा दुई गुना बढी चुक्ता पुँजीसहित बलियो पुँजीगत आधार र लगानी क्षमताका झन् ठूला बैंकहरूको उदय हुनेछ ।

पछिल्लो समय प्रभु बैंक र सेञ्चुरी बैंक मंसिरभित्र मर्जरका सबै प्रक्रिया सकेर एकीकृत कारोबार गर्न सहमत भएका छन् । कुनै बेला नेपालमा ३२ वटासम्म वाणिज्य बैंक पुगेको थियो । केन्द्रीय बैंकको मर्जरका लागि प्रोत्साहनको नीतिले अहिले वाणिज्य बैंकको संख्या २६ मा झरेको छ । केन्द्रीय बैंकले तत्काल अझै ६ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जरको लागि अनुमति दिने गरी तयारी गरेको छ ।

बैंकिङ पहुँच घरना ग्रुपमा सिमित

नेपालमा राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् । जसका कारण वाणिज्य बैंकहरु व्यापारिक घरनाको कव्जामा आइ पुगेको छ ।

नेपालका एक मात्र अर्बपतिका रूपमा चिनिएका विनोद चौधरीको नेतृत्वमा रहेको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । दुई बैंकको मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृतरूपमा वित्तीय कारोबार सञ्चालन भएको हो ।

चौधरीको नेतृत्वमा रहेको चौधरी ग्रुपको कब्जामा नेपालका ६ वटा फाइनान्सियल क्षेत्रका कम्पनी कब्जामा छन् । यस्तै नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्स, कर्पोरेट बैंकिङ सर्भिस, सिजी फिन्को र युनाइटेड रेमिट चौधरी ग्रुपको स्वामित्वमा छन् । नबिल बाहेक अन्य कम्पनीमा सर्वसाधारणको उपस्थिति शून्य छ ।

यसैगरी नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्षसमेत रहनुभएका पवनकुमार गोल्यानको नेतृत्वमा चलेको गोल्यान ग्रुपले दुईटा वाणिज्य बैंक (एनआईसी एसिया र एनएमबी बैंक) मा लगानी गरेको छ भने लुम्बिनी विकास बैंकमा पनि लगानी छ ।

पछिल्लो समय मौद्रिक नीति बनाउने सन्दर्भमा राष्ट्र बैंकलाई सुझाव दिने क्रममा उनले धेरै ठाउँमा व्यवसायीको हकमा आवाज उठाएका थिए भने सिविफिनले गरेको कार्यक्रममा बैंकरको पक्षमा आवाज उठाउनुभएको थियो । नेपालको नीतिलाई आफू अनुकूल पार्न सक्ने हैसियतका विशाल ग्रुपको कव्जामा पनि २ वटा वाणिज्य बैंक छन् भने एउटा पूर्वाधार विकास बैंक छ ।

विशाल ग्रुपमा अध्यक्ष जगदीशप्रसाद अग्रवाल केही समयअघि मर्ज नहुँदा एनआईसी एसिया बैंकको अध्यक्ष हुनुहुन्थ्यो । उनकै नेतृत्वको विशाल ग्रुपको लगानी एनआईसी एसिया र एनएमबी बैंकमा ठूलो मात्रामा रहेको छ।

पूर्वसभासद्समेत रहनुभएका राजेन्द्र खेतान नेतृत्वको खेतान ग्रुपको तीन वटा वाणिज्य बैंकमा लगानी गरेको छ । लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा लगानी गरेको सो समूहको सबैभन्दा बढी लगानी लक्ष्मी बैंकमा रहेको छ । त्यस्तै, सोही समूहले लक्ष्मी माइक्रोफाइनान्स पनि खोलेको छ, जसको नियमन र सुपरीवेक्षण राष्ट्र बैंकले गर्दछ ।

मोतीलाल दुगड नेतृत्वको दुगड ग्रुपको लगानी पनि तीन वटा वाणिज्य बैंकमा रहेको छ । कुमारी बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंकमा लगानी रहेको सो ग्रपले विभिन्न वस्तु पनि उत्पादन गर्दै आएको छ । हाल मोतीलाल दुगड सनराइज बैंकका अध्यक्ष हुनुहुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई गु्रपको ग्लोबल आइएमई बैंक रहेको छ ।

ग्लोबल बैंकका अलावा राष्ट्र बैंकको नियमनभित्रै रहेको आइएमई रेमिट्यान्स र ग्लोबल रेमिट पनि ढकालकै स्वामित्वमा छ । राष्ट्र बैंकको मर्जर नीति अनुसार ५ वटा वाणिज्य बैंक ग्लोबल आइएमई बैंकमा बिलय गइसकेको छ । अहिले ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जमा जान सम्झौता भइसकेको छ ।

यस्तै लामो समय जापानमा बसेका गैरआवासीय नेपाली देवी भट्टचन नेतृत्वको प्रभु ग्रुपको पनि प्रभु बैंकमा ठूलो लगानी रहेको छ । प्रभु बैंक प्रभु फाइनान्स हुँदै ‘क’ वर्गको वाणिज्य बैंक बनेको हो । सो बैंकले पनि ग्रान्ड र किस्ट बैंक आफुमा समाहित गरेको छ । त्यस्तै, राष्ट्र बैंकको अनुगमनभित्रै पर्ने प्रभु क्यापिटल, प्रभु मनी ट्रान्सफर र प्रभु ग्रुप इन्क यूएसए पनि सञ्चालन गरेको छ ।

नेपालको औद्योगिक घरानाका शारडा ग्रुपको पनि तीन वटा वाणिज्य बैंकमा ठूलो लगानी रहेको छ । शिवरतन शारडा नेतृत्वको सो ग्रुपको लगानी कुमारी बैंक, एनएमबी बैंक र सनराइज बैंकमा छ ।

यस्तै पुरुषोत्तमलाल संघाई नेतृत्वको त्रिवेणी ग्रुप व्यापारिक समूह हो । सो समूहले पनि एनआईसी एसिया बैंक, एनएमबी बैंकमा ठूलो लगानी गरेको छ । महालक्ष्मी विकास बैंकमा पनि सो समूहको लगानी छ ।

त्यस्तै, एनआरएनको लगानीमा रहेको सानिमा ग्रुपले सानिमा बैंक र सानिमा क्यापिटलमा लगानी गरेको छ । सुदर्शनलाल महर्जन र राजु चौधरीले सञ्चालन गरेको केसी ग्रुपले माछापुच्छ्रे बैंकमा लगानी गरेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेको नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकमा सेयर रहेको छ । पाण्डे तत्कालिन समयमा हिमालयन बैंकको संस्थापक समेत रहनुभएको थियो । अहिले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच एकआपसमा गाभ्न, गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भइ सकेको छ । मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुनेछ भने सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहनु हुनेछ ।

यसैगरी मीनबहादुर गुरुङ नेतृत्वको भाटभटेनी ग्रुपले पनि कुमारी बैंकमा लगानी गरेको छ भने आदित्य चाचन नेतृत्वको चाचन ग्रुपले सनराइज बैंक र महालक्ष्मी विकास बैंकमा लगानी गरेको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नेतृत्वको महतो ग्रुपले अफ इन्डस्ट्रीले पनि सानिमा बैंक र माछापुच्छ्रे बैंकमा लगानी गरेको छ भने अजय सुमार्गी नेतृत्वको मुक्तिश्री ग्रुपले महालक्ष्मी विकास बैंकमा लगानी गरेको छ ।

त्यसैगरी नारायण पगार्नी नेतृत्वको युनिभर्सल ग्रुपको पनि कुमारी बैंक र एनएमबी बैंकमा लगानी छ भने राणा समूहको हिमालयन बैंकमा, पाण्डे समूहको नेपाल इन्भेस्टमेन्ट बैंकमा, इच्छाराज तामाङको सिभिल बैंकमा, बीके श्रेष्ठको एभरेष्ट बैंकमा र नूतन राणाको कुमारी बैंकमा लगानी रहेको छ ।

यी बैंकहरु केहि मर्जरमा गइ सकेका छन् भने केहि मर्जको प्रक्रियामा रहेका छन् । यसर्थ, बिग मर्जरले बैंकिङ पहुँच घरना ग्रुपमा सिमित रहने देखिन्छ ।

ब्यापारी र बैंकर्स एउटै हुँदा समस्या

बैंकर र व्यवसायी एउटै हुँदा थप समस्या देखिने सक्ने चुनौती देखिएको छ । बैंकहरु अहिले घराना ग्रुपमा जान थालेको छ । बैंक र व्यवसायमा एउटै व्यक्ति वा समूह देखिन्छ । एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाले बैंक वित्तीय क्षेत्रमा समस्या आएको छ । एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गरेकै कारण नेपाली वित्तीय क्षेत्रमा सुशासन बिग्रिँदै गएको छ ।

कर्मचारी व्यवस्थापनमा समस्या

मर्जरपछि बैंकले झेल्नुपर्ने अर्को मुख्य चुनौती भनेको कर्मचारी व्यवस्थापन हो । दुई ठूला बैंकबीच मर्जर गर्दा प्रमुख कार्यकारी अधिकृत कसलाई बनाउने भन्नेमा समस्या आउन सक्छ । दुवैले उच्च पदमा दावी गर्नु स्वभाविक नै हुन्छ । किनकि, सीईओ भइसकेको व्यक्ति डेपुटी सीईओमा घटुवा हुन चाहँदैन ।

सीईओबाहेक विभागीय प्रमुखहरुको व्यवस्थापन पनि अर्को समस्या हो । एउटा बैंकको विभागीय प्रमुख मर्जरपछि घटुवा हुनुपर्ने अवस्था आउँछ ।

सेवा विस्तारमा समस्या

बिग मर्जको आउन सक्ने अर्को चुनौती भनेको सेवा विस्तारमा समस्या हो । मर्जरपछि आन्तरिक व्यवस्थापन गर्न केही समय लाग्छ । मर्जर प्रक्रियाका लागि केही महिना पर्खिनुपर्ने हुन्छ ।

अर्कोतर्फ सफ्वेटरलगायतका प्राविधिक विषयहरु पनि चुनौतीका रुपमा प्रस्तुत हुन सक्नेछन् । दुई फरक किसिमका प्रविधि सञ्चालन भइरहेका कारोबारहरु एउटै प्रविधिमा ल्याउनुपर्ने हुन्छ । यसका लागि पनि समय थप खर्चिनु पर्ने हुँदा नयाँ सेवा विस्तार गर्न समस्या हुने गर्दछ ।

सम्पत्तिको व्यवस्थापन समस्या

बीग मर्जको अर्को समस्याका रुपमा सम्पत्ति व्यवस्थापनलाई पनि लिन सकिन्छ । धेरै बैैंकहरुले आ–आफ्नै लगानीमा भवनहरु निर्माण गरेका छन् । कतिपय शाखा कार्यालयहरु आफ्नै भवनमा छन् भने आफ्नै भवन नभए पनि करोडौं लगानी गरेर शाखा कार्यालयहरु स्थापना गरेका छन् ।

बैंकहरुको संख्या कम हुँदा एकै ठाउँमा भएका शाखा कार्यालयहरु स्थानान्तरण गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सम्पत्ति व्यवस्थापनको विषय पनि समस्याको रुपमा खडा हुन सक्छ ।