
बैंकिङ खबर/ हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर अहिलेका युवा पिँढी बैंकमा करिअर बनाउन लागि परेका छन् । बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्ने वित्तिकैं आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ ।
अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भएपनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरूको अनुभव छ ।
केही समयअघिसम्म बैंक तथा वित्तीय क्षेत्र साँघुरो भएकाले यसमा कम अवसर थियो । अहिले वित्त बजार फराकिलो भएको छ । त्यसैले बैंकिङ करिअरमा अवसर बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू विस्तार भइरहेका छन् । गाउँगाउँसम्म यसका सेवा पुग्दैछन् । यसको विस्तारसँगै यसमा करियर बनाउनेको संख्या पनि बढ्दो छ ।
यो क्षेत्र मर्यादित हुनुका साथै काम गर्ने निश्चित समय अवधि, कामअनुसारको आकर्षक तलबभत्ता अनि वार्षिक बोनसको सुविधा भएकाले पनि यसमा आकर्षण बढेको हो ।
बैंकको जागिर सानै पद भए पनि दुईचार लाख जोगाउन सकिने क्षेत्र हो । बाहिरी आकर्षण त छ नै, त्यसमा पनि जिम्मेवार, लगनशील तथा पेसागत क्षेत्र हो बैंकिङ । बैंकिङ क्षेत्रमा लाग्नेको परिवारको समेत भविष्य सुरक्षित हुने भएकाले यसको आकर्षण अझ बढेको छ ।
बैंकिङ क्षेत्रको नेतृत्व गर्ने युवापुस्ता
हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये अधिकांश बैंकका डिपार्ट हेडमा ३० वर्ष भन्दा कम उमेरका युवाहरुले नै नेतृत्व गरिरहेको अवस्था छ । राष्ट्रिय स्तरको विकास बैंकका रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा दुई युवाले डिपार्ट सम्हालि रहनुभएको छ । उहाँहरु ३० भन्दा कम उमेरका हुनुहुन्छ ।
प्रभास राई २५ वर्षको हुनुहुन्छ । उहाँ एच आर एण्ड ब्रान्डिङ डिपार्टमा हुनुहुन्छ । अर्काे सिए प्रेम सुवेदी २९ वर्षको हुुनुहुन्छ । उहाँले कर्पाेरेट क्रेडिट रिस्क डिपार्ट सम्हाली रहनुभएको छ ।
यस्तै सांग्रिला विकास बैंक लिमिटेडमा २७ वर्षीय निर्जला फासीले डिपार्ट हाकिरहनुभएको छ । उहाँ इन्टरनल अडिट डिपार्टमेन्ट हेड हुनुहुन्छ । मुक्तिनाथ विकास बैंक लिमिटेडमा दुई युवाहरुले डिपार्ट हेडका रुपमा हुनुहुन्छ । ३० वर्षीय सञ्जिव पौडेल चिफ फाइनान्स अफिसर डिपार्टमेन्टमा हुनुहुन्छ भने २९ वर्षीया नम्रता गौतम ब्रान्डिङ एण्ड कर्पाेरेट अफियर डिपार्टमेन्टमा कार्यरत हुनुहुन्छ ।




