२०८२ फाल्गुन ३ गते

सरकारी बैंकमा ठूलो रोजगारी अवसर !

बैंकिङ खबर / सरकारी स्वामित्वमा सञ्चालन हुँदै आएका तीन ठूला वाणिज्य बैंकहरूले उल्लेख्य सङ्ख्यामा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका छन्। नेपाल बैंक लिमिटेड,राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेड ले विभिन्न तह र पदका लागि दरखास्त आह्वान गरेका छन्।

नेपाल बैंकमा ५८ पदका लागि विज्ञापन

नेपाल बैंक लिमिटेडले विभिन्न तहका ५८ पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र सहायक पदमा खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्ने जनाएको छ। तोकिएको शैक्षिक योग्यता पूरा गरेका उम्मेदवारले फागुन २१ गतेसम्म तथा दोब्बर दस्तुर तिरेर फागुन २८ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।

राष्ट्रिय वाणिज्य बैंकमा ६२ पदका लागि विज्ञापन

राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका लागि चौथो तहअन्तर्गत सहायक तथा अन्य सहायक पदमा गरी कुल ६२ जनाको माग गरेको छ। खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गरिनेछ। आवेदन दिन इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन फागुन २१ गतेसम्म अनलाइनमार्फत दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर फागुन २८ गतेसम्म आवेदन दिन पाइनेछ।

कृषि विकास बैंकमा २४२ पदका लागि विज्ञापन

कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत २४२ जनाको पदपूर्तिका लागि विज्ञापन सार्वजनिक गरेको छ। यसअन्तर्गत ६३ जना अधिकृतस्तर र २०६ जना सहायकस्तर (प्रशासन) का लागि आवेदन माग गरिएको छ। इच्छुक तथा योग्य उम्मेदवारले फागुन २१ गतेसम्म र दोब्बर दस्तुरसहित फागुन २८ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

तीनै बैंकले पद, योग्यता, आवेदन प्रक्रिया र समयसीमा सम्बन्धी विस्तृत जानकारी आफ्ना आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेका छन्। इच्छुक तथा योग्य उम्मेदवारहरूले सम्बन्धित बैंकको वेबसाइटमा गई आवश्यक विवरण हेरेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।