हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । साताको विहीबार सरकारले बजेटसँग सम्बन्धित तीन आश्रित विधेयक बिहिबार संसदमा पेश गर्यो । यसै सातादेखि राष्ट्र बैंकले दशैँका लागि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्न सुरु गर्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बजेटसँग सम्बन्धित विधेयक संसदमा
सरकारले बजेटसँग सम्बन्धित तीन आश्रित विधेयक बिहिबार संसदमा पेश गर्यो । यसअघिको सरकारले प्रस्तुत गर्दा अस्वीकृत भएका आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक २०७३ विधेयक वर्तमान सरकारले पुनः संसदमा पेश गरेको हो । अर्थमन्त्री निकट श्रोतका अनुसार ती विधेयकमा केही विषयमाथि हेरफेर समेत गरिएको छ । एमाले र माओवादी संयुक्त सरकारले तयार गरेको बजेट सदनमा पेश भएपछि विनियोजन विधेयक पारित गर्न साथ दिएको माओबादीले अविश्वासको प्रस्ताव संसदमा पेश गरेपछि बजेट आश्रित विधेयकको विपक्षमा मतदान गरेको थियो ।
ग्रामीण भेगमा शाखा खोल्न अनुमति नचाहिने
ग्रामीण भेगमा शाखा खोल्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको अनुमति लिनुनपर्ने भन्दै नेपाल राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गर्यो । जसअनुसार अब गाविसमा शाखा खोल्नुपरे बैंकहरुले राष्ट्र बैंकको पूर्व स्वीकृत नलिए पनि हुन्छ । राष्ट्र बैंकले भनेको छ, काठमाडौं उपत्यका, महानगरपालिका वा उपमहानगर वा नगरपालिका केन्द्रवाहेकका स्थानमा शाखा खोल्न स्वीकृति लिनु पर्दैन । शाखा खोल्ने निर्णय गरेको सात दिनभित्र भने राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने बताइएको छ । त्यस्तै, राष्ट्र बैकले भुकम्पबाट अति प्रभावति काठमाडौं उपत्यका वाहेकका जिल्लाहरुमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरु यथास्थानमा रहन असुविधा भए त्यही जिल्लाको अन्य स्थानमा स्थानान्तरण गर्न पनि स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ ।
दशैँका लागि नयाँ नोट
यसै साताको आइतबारदेखि नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन सुरु गर्यो । राष्ट्र बैंकले आइतबारदेखि क, ख र ग वर्गका बैंकहरुलाई थापाथली परिसरबाट नयाँ नोट उपलब्ध गराउन थालेको हो । बैंकहरुले पनि सर्वसाधारणलाई सोमबारदेखि नै नयाँ नोट उपलब्ध गराए । सर्बसाधारणले राष्ट्र बैंकबाट भने १६ गतेदेखि मात्रै नयाँ नोट पाउनेछन् ।
राष्ट्र बैंक
आगामी सोमबार नेपाल राष्ट्र बैंकले नौ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गर्यो । बुधबार राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्यो । बुधबार नै गभर्नर डा. चिरंजीबि नेपाल भुटानी समकक्षी दासो द तेन्जिङको औपचारीक निमन्त्रणमा थिम्पुतर्फ प्रस्थान गरे । उनका साथमा विदेशी मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव अधिकारी र राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पण्डित पनि भुटान गएका छन् । त्यस्तै, राष्ट्र बैंकले बिहिबार रिपोमार्फत् बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ तरलता पठायो ।
मर्जरबाट पुँजीवृद्धि
सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्लाई गर्नेसम्बन्धि समझदारीपत्रमा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरे ।
दशैँतिहार योजना
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँतिहारको अवसर पारेर ‘सिटी बजाउनुहोस, काठमाडौँमा घडेरी पाउनुहोस’ उपहार योजना ल्यायो ।
शाखा, सेवा तथा प्रविधि विस्तार
इजी लिंक रेमिट्यान्स र प्राइम कमर्सियल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भयो । कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपूरमा आयोजित ग्रामीण वित्तीय संस्था तथा सहकारीको विकाससम्बन्धि कार्यक्रम आयोजना गरियो । गत सोमबारदेखि सीसीआईटीएबी, नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सप्तकोसी विकास बैंक, नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक र नेपाल एग्रिकल्चरल कोअपरेटिभ सेन्ट्रल फेडरेसनको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबारसम्म चल्नेछ । बेष्ट रेमिट नेपाल र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी तथा अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भयो । बुम रेमिट्यान्स प्रालिले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लि र काँके्रबिहार बिकास बैक लि लाई आफ्नो एजेन्ट नियूक्त गर्यो । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले सोमवार नारायणचौर, नक्साल स्थित कार्यालयको समुद्घाटन गर्यो ।
सामाजिक उत्तरदायित्व पूरा गर्दै वित्तीय संस्था
रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर गौशाला देखि कमल पोखरी सम्म ४० थान डष्टबिन सौजन्य गर्यो । सनराइज बैंक लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर एक सय ४० जना बालबालिकालाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गर्यो ।
सेयर निष्काशनको लहर
कुमारी बैंक र कामना विकास बैंकको सेयर कारोबार विहीबारदेखि खुल्यो । वेस्टर्न डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डले स्विकृत गर्यो । साताभरमा नेप्सेमा झन्डै तीन करोड कित्ता सेयर थपिए । एक लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि महुली सामुदायिक लघुवित्तले एनसिएम मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गर्यो । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको शेयर कारोबार बुधबारदेखि खुल्यो । झिमरुक बिकास बैंकलाई आफुमा गाभेको ज्योति विकास बैंकको सेयर कारोबार मंगलबारदेखि खुल्यो । सेवा विकास बैंकले एक सय २० प्रतिशत हकप्रद सेयरका लागि धितोपत्र बोर्डबाट स्विकृत पायो । एक्सेल डेभलपमेन्ट बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो । कुमारी बैंकको आईतबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गर्यो । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आईतबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गर्यो । नेपाल इन्भेष्टमेन्ट बैंकको २० प्रतिशत बोनस सेयर बैंकको मंगलबार सम्पन्न साधारणसभाले पारीत गर्यो । यससँगै, बैंकको पुँजी आठ अर्ब नाघ्यो ।





