हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । साताको मंगलबार बैंकर कमल ज्ञवालीलाई बैंकिङ कसुरको अभियोगमा दोषी ठहर गर्दै अदालतले सजाय सुनायो । त्यस्तै, साताको बुधबार नेपाल धितोपत्र बोर्डले सूचस्कृत कम्पनी, नेप्से र सीडीएसलाई निर्देशन दिँदै प्रेस विज्ञप्ति निकाल्यो । रिएका छन् । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बैंकर नै बैंकिङ कसुरका दोषी
तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहेका कमल ज्ञवालीलाई ललितपुरको पाटनमा रहेको उच्च अदालतले बैंकिङ कसुरको अभियोगमा दोषी ठहर गर्दै चार बर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवाना सुनायो । ज्ञवालीलाई अदालतले सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोग लागेको थियो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गर्यो । सोही मुद्धामा ऋणी किशोर ढकाललाई ४ वर्ष कैद र ५० लाख रुपैयाँ, धितो मूल्यांकनकर्ता कोमलानन्द अधिकारीलाई ४ वर्ष कैद र ५ करोड ७३ लाख रुपैयाँ जरिवाना भयो भने मुद्धामा संलग्न अन्य प्रतिबादीहरु शेखर अर्याल, मधुसूदन सिलवाल, रमेशकुमार शर्मा, दीपेन्द्र कार्की र केपी शर्मालाई जनही २, २ वर्षका दरले कैद सजाय भयो । उक्त मुद्धामा प्रतिबादी बनाईएका मोतीराज ज्ञवाली, मदनबहादुर बस्नेत, अञ्जु पाण्डे पोख्रेल, गंगाबहादुर जीसी, विदुर ज्ञवाली, धु्रव कार्की र देवकी बस्ताकोटी ढकाल भने निर्दोष ठहरिए ।
पुँजी बजारको सुदृढिकरणमा धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई सर्वसाधारण लगानीकर्ताहरुले नयाँ हितग्राही खाता (डिम्याट) खोल्दा अनिवार्य रुपमा बैंक खाता राख्ने व्यवस्था मिलाउन निर्देशन दियो । त्यस्तै, मर्जर प्रक्रिया सकिएर एकीकृत कारोबार सुरु भएलगत्तै सेयर कारोबार सुचारु गर्न नेप्सेमा सूचीकृत कम्पनीहरुलाई निर्देशन दियो । साथै, संस्थाहरुको गाभिने रद्ध भएका कम्पनीहरुले पनि प्रक्रिया टुङ्गोमा नपुगेमा प्रक्रिया रद्ध भएको १५ दिन भित्रै कारोबार शुरु गर्नुपर्ने बोर्डले जनाएको छ । त्यसैगरी, संस्थाको प्राथमिक निष्काशन तथा नयाँ निष्काशनको क्रममा दरखास्त फारम लिन, दरखास्त फारम बुझाउन तथा रकम जम्मा गर्न संकलन केन्द्रको संख्या कम भई लगानीकर्ताहरुले अनावश्यक झन्झट बेहोर्नु परेको भन्दै बार्डले अर्थतन्त्र र जनसंख्याको चाप हेरी पर्याप्त मात्रामा केन्द्र राख्न पनि मर्चेन्ट बैंकहरुलाई निर्देशन दियो । प्रत्येक संकलन केन्द्रमा जेष्ठ नागरिक, अपाङ्ग तथा महिला लगानीकर्ताहरुको लागि सहज रुपमा अर्थात आवश्यक्तानुसार छुट्टै काउण्टररलाइनको व्यवस्था गरी फारम भर्न सक्ने व्यवस्था गर्नेरगराउन पनि बोर्डले निर्देशन दियो ।
शुभेच्छा र गरिमाको मर्जर
गत मंगलबारदेखि शुभेच्छा विकास बैंक र गरिमा विकास बैंक एकआपसमा गाभिएर बनेको नयाँ बैंकको एकीकृत कारोबार सुरु भयो । मर्जरपछि गरिमा विकास बैंकको नामबाट कारोबार थालेको बैंकको चुक्तापुँजी एक अर्ब नाघेको छ । राष्ट्रिय स्तरको विकास बैंक भएको हिसाबले यो बैंकले आगामी असार मसान्तसम्ममा साँढे दुई अर्ब पुँजी पुर्याउनुपर्ने हुन्छ ।
पुँजी वृद्धिको विकल्प : बोनस र हकप्रद
सानिमा बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो । साथै, बोनस वितरणपछि कायम पुँजीबाट ३० प्रतिशत हकप्रद सेयर समेत दिने निर्णय गर्यो । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्यो । साथै, बोनस वितरणपछि कायम पुँजीबाट ३९ प्रतिशत हकप्रद सेयर समेत दिने प्रस्ताव अघि सार्यो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले २७ प्रतिशत वोनस सेयर दिने प्रस्ताव अघि सार्यो । नेपाल बैंकले फेरि पनि नागरिक लगानी कोषको दुई लाख कित्ता संस्थापक सेयर विक्रि गर्ने निर्णय गर्यो । आईसीएफसी फाइनान्सको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्विकृत गर्यो । सेन्ट्रल फाइनान्स लिमिटेडले साढे २२ प्रतिशत बोनश शेयर र १ दशमलव १८ प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो । एस डेभलपमेन्ट बैंकले २०.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सार्यो । अरनिको डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सार्यो । सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्विकृति पायो ।
नेपाल राष्ट्र बैंक
बुधबार राष्ट्र बैंकले वित्तीय प्रणालीबाट रिभर्स रिपोमार्फत एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्यो भने साताको आइतबार नेपाल राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले झन्डै १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गर्यो ।
सामाजिक उत्तरदायित्व निभाउँदै बैंक तथा वित्तीय संस्था
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत पालुङ मैनादी – ३, पाल्पास्थित श्री प्रभात माध्यमिक विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्यो । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड गत सोमबार (असोज ३ गते) देखि आफ्नो स्थापनाकालको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गर्यो । सो अवसरमा बैंकले रक्तदान कार्यक्रम सम्पन्न गर्यो । सोही अवसरमा सोही अवसरमा महेन्द्रनगरको बनखेतमा रहेको महिला तथा बृद्धा सेवा केन्द्र स्थित बृद्ध–बृद्धा, बाल–बालिकाहरुको हेरचाह गर्ने सहयोगी महिला समेत गरि ६५ जना, महेन्द्रनगर बजारस्थित महाकाली अञ्चल बाल अनाथलयमा रहेका २७ जना बालबालिकाहरु र रौतेला मन्दिरस्थित बैजनाथधाम तथा बृद्धाश्रम सेवा समितीमा रहेका १० जना बृद्ध–बृद्धालाई बैंकले खाद्यान्न वितरण गर्यो भने १० जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई जनही रु २५०० का दरले रु २५,००० छात्रबृति समेत प्रदान गर्ने निर्णय समेत गर्यो ।
अन्य
एनएमबी बैकको विदेशी रणनीतिक साझेदार नेदरल्यान्ड फाइनान्सियरिङ (एफएमओ) ले अर्को एक अर्ब रुपैयाँको सेयर खरीद गर्ने प्रस्ताव गर्यो । शारिरीक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक विजेता महेश्वर महर्जनलाई यती डेभलपमेण्ट बैंकले ब्राण्ड एम्बेसडरको रुपमा २ बर्षको लागी अनुबन्धीत गर्यो ।




