२०७३ आश्विन ३ गते

हचुवाका भरमा ब्रान्चलेस बैंकिङ खोेल्दा, बैंकहरु समस्यामा

Branchless bankingग्रामीण तथा दुर्गम भेगलाई जनतालाई पनि बैंकिङ पहँचमा ल्याउन सुरु गरिएको ब्रान्चलेस बैंकिङ अर्थात शाखारहित बैंकिङ सेवा पनि प्रभावकारी हुन नसकेको देखिएको हो । पछिल्लो समयमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने क्रम जति बढिरहेको छ त्यति नै मात्रामा बन्द हुने क्रम पनि बढेको पाइएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्मा आठ सय १२ स्थानमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याए । जसमध्ये, १३ प्रतिशत अर्थात एक सय दुई स्थानका सेवाहरु बन्द भइसकेका छन् । 

नचलेका शाखाहरु धमाधम बन्द हुँदै
नेपाल राष्ट्र बैंकले २०६६ जेठमा शाखारहित बैंकिङ सेवाको अवधारणा ल्याएपछि वाणिज्य बैंकहरूले ०६८ सालमा सेवा सुरु गरेका थिए । पाँच वर्षमा यति धेरै सेवा विस्तार हुने सकारात्मक पक्ष हो । यद्यपि, बैंकहरूबीच कसले धेरै ठाउँमा सेवा सुरु गर्ने भन्ने प्रतिस्पर्धामा सम्भाव्यता अध्ययन नै नगरी यस्ता सेवाहरु खोलिँदा आज धमाधम बन्द हुने स्थितीमा पुगेका छन् । छोटो समयमै धेरै शाखारहित सेवा सञ्चालनमा ल्याउने होडमा लागेका बैंकहरुलाई त्यही सेवाबाट घाटा हुन थालेपछि त्यस्ता स्थानका सेवाहरु बन्द हुन थालेका हुन् । ग्रामीण भेगमा बैंकिङ सेवा पुर्याउन नेपाल राष्ट्र बैंकको यो अवधारणालाई योजनावद्ध तवरले अघि बढाउन सकिएको भए साँच्चै नै यसले युगान्तकारी परिवर्तन ल्याउने सम्भावना देखिएको थियो । तर, यसलाई दिगो रूपमा सञ्चालन गर्न सम्बन्धित बैंक र राष्ट्र बैंकले चासो नलिँदा विस्तार गरिएका सेवा पनि बन्द गर्नुपर्ने स्थिती सिर्जना भइरहेको छ । 

सक्षमको सहयोग
केही स्थानमा यस्ता शाखाहरु बन्द भएपनि कतिपय स्थानमा ब्रान्चलेस बैंकिङ सेवाले निकै सहयोग पुर्याइरहेको छ । शाखारहित बैंकिङ सेवाको सुरुवाती दिनमा बैंकहरूले आफूखुसी विस्तार गरेपछि पछिल्लो समय यसका लागि दातृ निकायको सहयोगका कारण यसको विस्तार पनि बढिरहेको छ । बेलायती सहयोग नियोगको सहयोगमा सञ्चालित सक्षम परियोजनाले शाखारहित बैंकिङ सेवा विस्तारका लागि गत वर्षदेखि सहयोग गर्न थालेको छ । परियोजनाको सहयोगमा भूकम्प प्रभावित १४ जिल्लाका साथै सुदूर र मध्यपश्चिमाञ्चलमा शाखारहित बैंकिङ सेवा विस्तार भइरहेको छ । पछिल्लो एक वर्षमा मात्र परियोजनाको आर्थिक सहयोगमा ४५५ वटाभन्दा बढी स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार भइसकेको छ । भूकम्प प्रभावित र दुर्गम ठाउँमा सेवा सञ्चालनका लागि हाल परियोजनाले बैंकको लागतमा ५० प्रतिशत सहयोग गर्दै आएको छ । 

सक्षमको सहयोग बन्द भएपछि भने उक्त सेवा सुचारु राख्न गाह्रो हुने बैंकरहरु बताउँछन् । भूकम्प प्रभावित जिल्लामा सरकारले दिने अनुदान वितरण प्रक्रिया शाखारहित बैंकिङ सेवामार्फत भइरहेको छ । यसबाट तत्कालका लागि शाखारहित सेवाको ग्राहक कारोबार भने राम्रो भएको देखिएको छ ।

के हो ब्रान्चलेस बैंकिङ ?
बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउनका लागि ल्याइएको एक अवधारणा हो शाखारहित बैंकिङ सेवा । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् । तर, हालसम्म वाणिज्य बैंकहरूले मात्र यस्तो सेवा दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।