एसियाली विकास बैंक(एडीबी) ले चालु आर्थिक बर्षमा पनि नेपालको आर्थिक बृद्धिदर चार दशमलव आठ प्रतिशत मात्र हुने घोषणा गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको कन्ट्री रिपोर्टमा यस्तो उल्लेख गरेको हो । सरकारले बजेटमार्फत चालु आर्थिक बर्षमा साढे छ प्रतिशत आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।तर, मुलुकको समग्र आर्थिक अवस्था, पुनः निर्माणको गति र राजनीतिक परिदृष्यका कारण सरकारले लक्ष्य गरे बमोजिम आर्थिक बृद्धिदर हासिल गर्न नसक्ने रिपोर्टमा उल्लेख छ । एडीबीका नेपाल निर्देशक केनेची योकोहामाले संविधानमा अझै विवाद कायम रहेको र दलहरु विकास केन्द्रित हुन नसकेको कारण आर्थिक बृद्धिदर माथि जाने र सरकारी लक्ष्य पुरा हुने संम्भावना नरहेको बताए ।
एडीबीले यो बर्ष रेमिट्यान्स आप्रवाहमा कमि आउने भन्दै चिन्ता व्यक्त गरेको छ । रेमिट्यान्स घट्दा सेवा क्षेत्र प्रभावित हुने र त्यसले आर्थिक विकासमा थप शिथिलता ल्याउने उल्लेख गरिएको छ । रेमिट्यान्स आप्रवाहमा तत्काल ठूलो गिरावट नदेखिए पनि मध्य र दिर्घकालमा भने यो उच्च दरले घट्ने संभावना रहेको बैंकले जनाएको छ । नेपालीहरुले रोजगारी पाउने खाडी मुलुकको अर्थतन्त्रमा आएको सुस्तता र तेलको घट्दो मूल्यका कारण रेमिट्यान्स आप्रवाह घट्ने बैंकले जनाएको हो ।
त्यस्तै, चालू आर्थिक वर्षमा नेपालमा मूल्य बृद्धि उच्च हुने बैंकको प्रक्षेपण छ ।


