
बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको संख्या पछिल्लो समयमा मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेतापनि शाखा विस्तारको क्रम भने जारी नै रहेको छ । २०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७८ पुस मसान्तसम्ममा उक्त संख्या घटेर ६७ कायम भएको छ ।
६७ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोककर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन्। लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा ७.४४ प्रतिशतले वृद्धि भई ४ हजार ९ सय ६५ पुगेको छ ।
सो अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको केन्द्र संख्या ११.४३ प्रतिशतले वृद्धि भई ४ लाख ४ हजार, सदस्य संख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी संख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुमा २३ हजार २ सय ८१ जना कर्मचारीहरु कार्यरत रहेका छन्, जुन २०७८ असारमसान्तको तुलनामा ११.५४ प्रतिशतले बढी हो ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी शाखा
प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०७८ पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११३५ वटा शाखाहरु संचालनमा रहेका छन् । तत्पश्चात् लघुवित्त वित्तीय संस्थाको १०३१ शाखाहरु भएको मधेस प्रदेश दोस्रो स्थानमा रहेको छ ।
यसैगरी प्रदेश नं. १ मा लघुवित्त वित्तीय संस्थाको ८४९ शाखाहरु, बाग्मती प्रदेशमा ७२० शाखाहरु, गण्डकी प्रदेशमा ५६३, कर्णाली प्रदेशमा २२५ र सुदुर पश्चिम प्रदेशमा ४४२ शाखाहरु संचालनमा रहेका छन्।
पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक
लघुवित्त वित्तीय संस्थाहरुको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन– २०७८ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
२०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पति १५.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।
वित्तीय स्रोत संकलन
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको सापटी रकममा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको प्रमुख वित्तीय स्रोत पूँजी र सापटी रहेको छ । २०७८ पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरूले ४५ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गरेका छन् जुन २०७८ असार मसान्तको तुलनामा १०.४९ प्रतिशतले बढेको छ, आर्थिक वर्ष २०७७-७८ को सोही अवधिमा वित्तीय स्रोत संकलनमा ६.८६ प्रतिशतले वृद्धि भएको थियो । २०७८ पुस मसान्तसम्ममा वित्तीय स्रोत संकलन अघिल्लो त्रैमासको प्राथमिक पँुजीको ५.७६ गुणासम्म पुगेको छ । लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले निक्षेप संकलन र सापटी रकम बढाएका छन् । २०७८ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले निक्षेप तथा बचत संकलन रू. १ खर्ब ४६ अर्ब ७ करोड र सापटी रू. १ खर्ब ८९ अर्ब ८४ करोड गरी जम्मा रू. ३ खर्ब ३५ अर्ब ९० करोड वित्तीय स्रोत संकलन गरेका छन् । उक्त निक्षेप संकलन र सापटी रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म क्रमशः १३.११ र ३०.९१ प्रतिशतले बढेकोमा यस आर्थिक वर्षको सोही अवधिमा निक्षेप संकलन र प्राप्त सापटी रकम क्रमश ११.९९ र १४.३८ प्रतिशतले बढेको छ ।
वित्त बजारमा बैंकहरुबाट प्राप्त हुने कर्जामा आएको संकुचनको कारण २०७८ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्रोत संकलन अघिल्लो त्रैमासको प्राथमिक पूँजीको ७.९९ गुणासम्म पुगेको छ ।
कर्जा तथा सापटी
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटी रकममा वृद्धि भएको छ भने निष्क्रिय कर्जाको अनुपातमा ह्रास आएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७८ असारको तुलनामा १३.७९ प्रतिशतले वृद्धि भई २०७८ पुस मसान्तमा रू. ५४ अर्ब ८४ करोड पुगेको छ । समीक्षा अवधिमा कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा रु. १८ करोड अर्थात ०.३४ प्रतिशत मात्र रहेको छ ।
२०७८ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.४४ प्रतिशत रहेको थियो भने २०७७ पुस मसान्तमा यस्तो अनुपात ०.५७ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको छ भने निष्क्रिय कर्जा १२.०३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सक्रिय कर्जा ७.०५ प्रतिशतले बढेको थियोभने निष्क्रिय कर्जा ५१.०४ प्रतिशतले बढेको थियो ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटी रकममा वृद्धि भएको छ भने निष्क्रिय कर्जाको अनुपातमा ह्रास आएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७८ असारको तुलनामा १८.४३ प्रतिशतले बढेर २०७८ पुस मसान्तमा रू.३ खर्ब ७५ अर्ब ८४ करोड पुगेको देखिन्छ । समीक्षा अवधिमा कुल कर्जा तथा सापटमध्ये निष्क्रिय कर्जा रु. ११ अर्ब ४ करोड अर्थात २.९४ प्रतिशत रहेको छ ।
२०७८ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.९७ प्रतिशत रहेको थियो भने २०७७ पुस मसान्तमा यस्तो अनुपात ४.२० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर १७.०३ प्रतिशत छ भने सक्रिय कर्जाको वृद्धिदर १८.४७ प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः १२४.८८ र २२.८३ प्रतिशतले बढेको थियो ।
लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सा बढेको छ । लघुवित्त वित्तीय संस्थाहरुले २०७८ पुस मसान्तमा प्रवाह गरेको कर्जा रकम रु. ४ खर्ब ३० अर्ब ६८ करोड मध्ये रु. १ खर्ब ९५ अर्ब ८१ करोड अर्थात ४५.४७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०७८ असार मसान्तमा कृषि क्षेत्रमा रु. १ खर्ब ६३ अर्ब ८६ करोड अर्थात ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.३९ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३१.२२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको हिस्सा १२.७३ प्रतिशत रहेको छ ।
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था बढेको छ भने निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था घटेको छ । २०७८ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा ११.२५ प्रतिशतले बढेर रू. १ अर्ब ८ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा १.७३ प्रतिशतले ह्रास भई रु.१८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ८.७९ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ३१.१० प्रतिशतले बढेको थियो ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय
संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा ७.५४ प्रतिशतले बढेर रू. १० अर्ब ५३ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा १०.४५ प्रतिशतले वृद्धि भई रु.५ अर्ब ३८ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ३०.९० प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ७९.८० प्रतिशतले बढेको थियो ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जाको अंश घटेको छ भने लघु व्यवसाय कर्जाको अंश बढेको छ । २०७८ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १८.०६ प्रतिशत रहेको छ । यस्तो अनुपात २०७८ असार मसान्तमा १९.१२ प्रतिशत र २०७७ पुस मसान्तमा १७.३९ प्रतिशत रहेको थियो । लघु व्यवसाय कर्जाको अंश पनि २०७८ असारमा ७३.७६ प्रतिशत रहेकोमा २०७८ पुसमा ७४.६८ प्रतिशत पुगेको छ ।
लगानी
लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ । २०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी रु. ९ अर्ब ९१ करोड पुगेको छ, जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो । विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म रु. ८ अर्व २७ करोड राखेका छन् जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्धती निक्षेपमा गरेको लगानी र शेयर तथा डिबेन्चरमा गरेको लगानी घटेको देखिन्छ ।
जोखिम भारित सम्पत्ति र कुल सम्पत्ति
लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ । २०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति रु. ४ खर्ब ८८ अर्ब १७ करोड पुगेको छ । यो २०७८ असार मसान्तको तुलनामा १२.२९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति २०.४२ प्रतिशतले बढेको थियो ।
२०७८ पुस मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पतिको ९३.९४ प्रतिशत रहेको छ जुन २०७८ असार मसान्तमा ९१.२५ प्रतिशत रहेको थियो ।
मुनाफा स्थिति
थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ब्याज आम्दानी रु.२ अर्ब ३४ करोड र ब्याज खर्च रु. १ अर्ब २० करोड रहेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुले रु. ८२ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ४९.८१ प्रतिशतले बढी हो ।
समग्रमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा वृद्धि भएको छ । उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमाससम्ममा खुद मुनाफा रु. ४ अर्ब ६१ करोड रहेकोमा २७.७३ प्रतिशतले वृद्धि भई यस आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८९ करोड पुगेको छ ।
उक्त लघुवित्त वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ब्याज आम्दानी रु. २५ अर्ब ८२ करोड र ब्याज खर्च रु. १२ अर्ब रहेको छ । यस अवधिमा सञ्चालित ६३ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये २ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ ।
तरलता स्थिति
समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरु निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन् । २०७८ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा २०७८ असारको तुलनामा १३.६७ प्रतिशतले ह्रास भई रु. ३ अर्ब १८ करोड पुगेको छ । २०७८ पुस मसान्तमा तरल सम्पत्ति/कुल निक्षेप अनुपात ७.९३ प्रतिशत रहेको छ ।
२०७७ पुस र २०७८ असार मसान्तमा यस्तो अनुपात क्रमशः ८.२५ प्रतिशत र ९.८९ प्रतिशत रहेको थियो । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्दात अनुपात क्रमशः ४.३६ प्रतिशत र २.५४ प्रतिशत रहेको छ ।
समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात तोकिएको न्यूनतम दरभन्दा बढी नै रहेको छ । सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको कुल तरल सम्पत्तिमा ह्रास आएको छ ।
सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस मसान्तमा तरल सम्पत्ति २०७८ असारको तुलनामा ३३.२८ प्रतिशतले ह्रास भई रु. १६ अर्ब ७९ करोड पुगेको छ । २०७८ असार मसान्तमा २७.९६ प्रतिशत रहेकतरल सम्पत्ति÷कुल निक्षेप अनुपात २०७८ पुस मसान्तमा भने १७.१५ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात घटेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस महिनाको अनिवार्य मौज्दात अनुपात ०.५८ प्रतिशत रहेको छ ।
सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने कुल ६५ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये एउटा संस्थाको अनिवार्य नगद मौज्दात अनुपात तोकिएको दर भन्दा न्यून रहेको र अन्य ६४ वटा लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्दात तोकिएको दर भित्रै रहेको छ ।




