निक्षेप तथा कर्जा सुरक्षण निगमले २० करोड रुपैयाँ निक्षेप लगानीका लागि प्रस्ताव माग गरेको छ । निगमले भदौ ३० गतेभित्र आवेदन दिने गरी रकम लगानीको प्रस्ताव माग गरेको हो । रकम लगानीका लागि छुट्याइएको कुल लगानीमध्ये २८ वटा वाणिज्य बैंकका लागि १८ करोड रुपैयाँ छुट्याईएको छ भने विकास बैंकहरुका लागि एक करोड र फाइनान्स कम्पनीहरुश्रका लागि एक करोड रुपैयाँ छुट्याइएको छ । निगमले एक वर्षका लागि उक्त लगानीको प्रस्ताव माग गरेको जनाएको छ ।
कसरी पेश गर्ने प्रस्ताव ?
कम लगानीको लागि प्रस्ताव पेश गर्ने बैंक तथा फाइनान्स कम्पनिहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात नेपाल राष्ट्र बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, गत आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको तथा रियलस्टेटमा प्रवाहित कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ । निगमका अनुसार, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, सीईओ वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना वा कारबाही गरेको अवस्थामा सो कारबाही भएको ३ वर्ष पूरा भएको कम्पनिले लगानीका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ३ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेका कम्पनिहरुले मात्र लगानी गर्न पाउने बताइएको छ ।



