बैंक तथा वित्तीय संस्थाले एक बर्षको अवधिमा १७४ वटा शाखा विस्तार गरेका छन् । आफ्नो पहुँच विस्तार गर्न बैंक तथा वित्तीय संस्थाहरुले शाखा वढाएका हुन् । अहिले बैंक तथा वित्तीय संस्थासँग २८ सय ९६ वटा शाखा कार्यालय छन् । अघिल्लो बर्ष २७ सय २२ वटा शाखा थिए ।
बैंकको शाखा बढेसँगै बैंकमा खाता खोल्नेको संख्या पनि बढेको छ । एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न खाता खोल्नेको संख्या १९ लाख एक हजार ३९९ थपिएको छ । गत असार मसान्तसम्ममा बैंकमा खाता हुनेको संख्या एक करोड ६८ लाख ३६ हजार १७ पुगेको छ । अघिल्लो बर्ष एक करोड ४९ लाख ३४ हजार ६१८ वटा खाता थिए ।
अहिले एउटै व्यक्तिले धेरै वटा वित्तीय संस्थामा खाता खोल्ने प्रचलन छ । यसले गर्दा पनि खाता खोल्ने संख्या बढी देखिएको छ । यसपालीदेखि भने नेपाल राष्ट्र बैंकले एक संस्थाले एक व्यक्तिको एउटा मात्र बचत खाता खोल्न पाउने व्यवस्था गरेको छ । यो नयाँ व्यवस्थापछि भने खाता खोल्ने संख्याको वृद्धिदर घट्ने सम्भावना देखिन्छ ।
आधुनिक बैंकिङतर्फ सर्वसाधारण
बैंकिङ पहुँचमा आएको सुधारसँगै सर्वसाधारणले आधुनिक बैंकिङतर्फ पनि पहुँच बढाएका छन् । तथ्यांकअनुसार, एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको एक सय ८७ वटा एटीएम थपिएको छ । असार मसान्तसम्ममा नेपालमा कुल १९ सय ८ वटा एटीएम पुगेको छ । एटिएम डेबिट कार्ड लिनेहरु ४६ लाख ५७ हजार १२५ पुगेका छन् । एक बर्षमा एक लाख २५ हजार ३३८ वटा कार्ड थपिएका हुन् । क्रेडिट कार्ड लिने पनि ८ हजार ११९ थपिएका छन् । गत असार मसान्तसम्ममा कुल ५२ हजार १४ वटा क्रेडिट कार्ड जारी भएका छन् ।
कर्जा लिने पनि बढे
बैंक तथा वित्तीय संस्थाबाट ऋण चलाउनेहरुको संख्या पनि एक वर्षको अवधिमा ६३ हजार १८६ जना थपिएका छन् । सो अवधिमा कुल १० लाख ९६ हजार ५७० वटा ऋण खाता खुलेका छन् । बाणिज्य बैंकहरुबाट मात्रै सात लाख ५३ हजार ६३६ वटा ऋण गएको छ । गत बर्षभन्दा वाणिज्य बैंकहरुबाट ऋण लिनेको संख्या ५० हजार ४३१ ले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुसँग अधिक तरलता रहेका कारण निक्षेपको ब्याजसँगै कर्जाको व्याज पनि घटेको छ । यसकारण पनि बैंकबाट ऋण लिनेहरुको संख्या बढेको हो । अघिल्लो बर्ष निक्षेपको औषत ब्याज दर ३.९४ प्रतिशत थियो । बचत खातामा २.९१, मुद्दति खातामा ६.४५ र कल एकाउन्टमा ४.५६ प्रतिशत ब्याज दर थियो । अहिले औषत ब्याज दर घटेर ३.२८ प्रतिशतमा आएको छ । बचत खाताको ब्याज २.२४, मुद्दति निक्षेपको ५.५७ र कल एकाउन्टको ३.८१ प्रतिशतमा झरेको छ । कर्जाको औषत ब्याजदर पनि घटेको छ । अघिल्लो बर्ष यस्तो ब्याज दर ९.५७ प्रतिशत थियो । यस बर्ष घटेर ८.८६ प्रतितशतमा आएको छ ।


