Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चौध बैंकहरुको लगानीमा ५४ मेगावाटका दुई जलविद्युत् आयोजना बन्दै

admin २०७३ भाद्र २१ गते
सेयर:

investmentनेपालका १४ बैंकहरुको सहलगानीमा ५४ मेगावाटका दुई आयोजना निर्माण हुने भएको छ । सोमबार आयोजित कार्यक्रममा दुवै आयोजनाको लागि ऋण सम्झौता सम्पन्न भएको हो । सानीगाड हाइड्रो प्रालीले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने गरि माछापुच्छ्रे बैंकको नेतृत्वमा सम्झौता भएको हो । माछापुच्छ्रे सहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनसीसी बैंक, सनराइज बैंक, जनता बैंक, कुमारी बैंक र सिभिल बैंक गरि ८ बैंकले रु चार अर्ब ७४ करोड ऋण लगानी गर्ने भएका छन् । 

त्यस्तै, एनएमबी बैंक नेतृत्वमा ६ बैंकको सहवित्तीयकरणमा कालंगा हाइड्रो प्रालिको प्रवद्र्धन रहेको १५ दशमलव ३३ मेगावाटको कालंगा गाड जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता भएको छ । यस आयोजनाको लागि एनआईसी एशिया बैंक, सिभिल बैंक, जनता बैंक, देव बिकास बैंक, ज्योती बिकास बैंकको लगानी रहने छ । यस आयोजनाको लागि ती बैंकहरुले रु २ अर्ब १० करोड ऋण लगानी गर्ने भएका छन् ।

यी दुबै आयोजना बझाङ जिल्लामा निर्माण हुने भएका हुन् । कालंगा गाड खोलामा यी दुवै आयोजना निर्माण हुने भएका हुन् । माथिल्लो कालंगा गाड आयोजनाको कुल लागत ६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंक ऋण बाहेक यस आयोजनाको लागि आवश्यक अन्य पुँजी सर्वसाधारणमा शेयर जारी गरेर जुटाइने छ । त्यस्तै, कुल लागत २ अर्ब ८० करोड रुपैयाँ रहेको कालंगा गाड आयोजनाको लागि बाँकी पुँजी पनि शेयर जारी गरेर जुटाइने भएको छ । ‘यो खोलामा निर्माण हुने एउटै बेसमेन्टबाट ८५ मेगावाट जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको छ, हामीले अहिले दुई आयोजनाको निर्माण शुरु गर्दैछौं, तर यसैमा अन्य थप आयोजना निर्माण गर्न सकिने अवस्था छ,’ दुवै आयोजनाका अध्यक्ष उमेश श्रेष्ठले भने ।    

दुवै आयोजनाको निर्माण समयभन्दा ६ महीना अघि सम्पन्न गर्ने लक्ष्य प्रवद्र्धकले लिएको छ । माथिल्लो कालंगा गाडको व्यापारिक उत्पादन गर्नुपर्ने अवधि २०७७ साउन १५ गते र कालंगा गाडको भदौ २९ गते रहेको छ । दुवै आयोजनाबाट उत्पादित विद्युत् बलाँच सबस्टेशन, दार्चुलाबाट प्रशारण लाइनमा जोडिने भएको छ । यी दुवै आयोजनाको सञ्चालन स्वीकृत अवधि ३५ वर्ष रहेको छ ।यी आयोजनाको मुख्य निर्माण दशैं पछि हुने पनि जानकारी दिइएको छ । हालसम्म जग्गा अधिग्रहण गर्ने, पहुँच मार्ग निर्माण, स्थलगत कार्यालय निर्माण, विद्युत् लाइन बिस्तारको काम भइरहेको उल्लेख गरिएको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।