म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् । विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले एक अर्ब सात करोड ६५ लाख ५० हजार रुपैयाँ रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ ।
कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिए । बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा रहेका बैंकका शाखाबाहेक विभिन्न कम्पनीका एजेन्टमार्फत भएको भुक्तानी जोड्दा अझ बढी रेमिट्यान्स जिल्लामा भित्रिएको छ ।
पछिल्लो समय युवायुवती रोजगारी र अध्ययनका लागि विदेशीएसँगै रेमिट्यान्स पनि भित्रन थालेको प्रभू बैंक बेनी शाखाका प्रबन्धक निरज पन्तले बताए । रासस