देशकै सबैभन्दा बढी चुक्तापूँजी भएको विकास बैंकको कारोबार शुक्रबारबाट सुरु भएको छ । भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक आपसमा गाभिएपछि ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ को नाममा कारोबार सुरु भएको हो । काठमाडौँको एक होटलमा राष्ट्रबैंकको गभर्नर डा. चिरंजीबि नेपालले संयुक्त कारोबारको समुद्घाटन गरे । समुद्घाटन कार्यक्रमको सम्बोधन गर्दै गभर्नर डा. नेपालले दुई विकास बैंक गाभिएर एक सशक्त विकास बैंक बनेकोमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई बधाई दिँदै राष्ट्र बैंकको निर्देशनअनुसार चलेकोमा धन्यवाद ज्ञापन गरे । साथै, जनताको निक्षेप दुरुपयोग नगर्न समेत भिबोर सोसाइटीलाई सजग गराए ।
यो मर्जरसँगै ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ देशकै सबैभन्दा बढी चुक्ता पुँजी भएको विकास बैंक भएको छ । यो बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड भन्दा केही बढी हुने बैंकका सीइओ झलक खनालले जानकारी दिए । यति धेरै चुक्तापूँजी देशका अन्य कुनै पनि विकास बैंकको छैन । केहीअघि मर्जर सकेर संयुक्त कारोबार सुरु गरिसकेको कैलाश विकास बैंकको चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले देशका विकास बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड हुनुपर्ने नीति लिएपछि त्यसैलाई पछ्याउँदै यी दुई बैंकले गत पुस ९ गते एकआपसमा मर्ज हुने सम्झौता गरेका थिए । सो क्रममा मर्जपछि बन्ने बैंकको नाम ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ रहने सहमति भएको थियो । नेपाल राष्ट्र बैंकले भदौ ८ गते भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । सुरुमा यी दुई बैंकले मर्जरका सबै आन्तरिक तयारी पूरा गरी असारभित्रैदेखि संयुक्त कारोबार थाल्ने बताएका थिए । यही योजनाका साथ उनीहरुले अन्तिम स्वीकृतिका लागि समयमै राष्ट्र बैंकमा निवेदन दिए पनि त्यहाँको ढिलासुस्तीले भदौ ८ मा मात्र अन्तिम स्वीकृतिको पत्र प्राप्त भएको थियो । त्यसपछि सबै तयारी पूरा गरेर बसेका उनीहरुले ९ दिनमै संयुक्त कारोबार सुरु गरेका हुन् ।
बैंकका सीईओ खनालले राष्ट्र बैंकको निर्देशनलाईए अक्षरशः पालना गर्ने क्रममा दुई विकास बैंकहरु मर्जरमा गएको र आगामी दिनमा पनि राष्ट्र बैंकका नीति र निर्देशनलाई यसरी नै पालना गर्दै जाने बताए । उनले निक्षेपकर्ताको निक्षेप र लगानीकर्ताको लगानीको सुरक्षाको ग्यारेन्टी दिने गरी अघि बढ्ने धारणा राखे । साथै, अरु बैंक तथा वित्तीय संस्था नपुगेको ठाउँमा आफू पुग्ने दाबी समेत गरे । कार्यक्रममा बोल्दै, बैंकका डेपुटी सीईओ ज्ञानुकृष्ण अधिकारीले ग्रामीण र दुर्गम क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाउने रणनीति सुनाए । साथै, भिबोरलाई राष्ट्र बैंकको उच्च बरियातमा पुर्याउने समेत उनले दाबी गरे । त्यस्तै, मर्जरपछि बनेको बैंकका सञ्चालक अशोकराज पाण्डेले लामो समयपछिको प्रयासपछि मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्न सकेकोमा खुसी व्यक्त गरे ।
त्यसैगरी, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले कमजोर आर्थिक अवस्था गुजारेका दुई बैंकहरु मर्ज भई एक बलियो विकास बैंक बनेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । साथै, विकास बैंकहरुको दायरा बढाउन गभर्नर डा. नेपालसँग माग समेत गरे ।
भिबोर र सोसाइटीको मर्जपछि बन्ने बैंकको रजिष्टर्ड कार्यालय काठमाण्डौको डिल्लीबजारमा अवस्थित हालको सोसाइटी डेभलपमेन्ट बैंकमा रहनेछ । हाल भिबोरको मुख्य कार्यालय त्रिपुरेश्वरमा रहेको छ । राष्ट्र बैंकले तोके अनुसारको चुक्तापूँजी पुर्याउन भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले आगामी दिनमा कुनै सानो संस्था खरीद गर्ने वा त्यो संभव नभए हकप्रद वा बोनस सेयर जारी गरी ०७४ असार मसान्तभित्र २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउने नीति लिएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा भिबोर विकास बैंकले २० करोड ३७ लाख खूद नाफा कमाएको छ । अघिल्लो आबमा यो बैंकको नाफा १५ करोड ८४ लाखमा सीमित थियो । यो अवधिमा बैंकले डूबेको कर्जा असूलीमा निकै ठूलो सफलता हात पार्दा नाफा बढेको हो । सोसाइटी डेभलपमेन्ट बैंकको नाफा समेत २० करोड ५ लाख पुगेको छ । यो बैंकको खूद नाफा गत आवको तुलनामा कम हो । गत आवमा यो बैंकले २० करोड ३२ लाख खूद नाफा कमाएको थियो । यो बैंकको चुक्तापूँजी ८९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।