हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साताको विहीबार नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक व्यवस्थापिका संसदबाट पारित भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक पारित
लामो समयदेखि विवादित बनिरहेको नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३ यो साताको विहीबार व्यवस्थापिका संसदले पारित गर्यो । यससँगै संसदले “कर्मचारी संचय कोष (नवौं संशोधन) विधेयक, २०७३”, “लेखा परिक्षण (पहिलो संशोधन) विधेयक, २०७३”, तथा “निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७३”लाई पनि पारित गर्यो ।
नेपाल राष्ट्र बैंक र वित्तीय क्षेत्र
बैंक तथा फाइनान्स कम्पनीमा थुप्रिएको लगानीयोग्य पुँजी (तरलता) खिच्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्यो । त्यस्तै, सरकारी लागि आन्तरिक ऋण उठाउने उद्देश्यस्वरुप नेपाल राष्ट्र बैंकले साताको सोमबार १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ बराबरको ट्रेजरी विल विक्रि गर्यो । यसै सातादेखि राष्ट्र बैंकले सेयर धितोमा दिइने मार्जिन लेन्डिङमा कडाइ गर्दै बैंक तथा वित्तीय संस्थाले पछिल्लो १८० दिनको औषत मूल्य या प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत मात्र मार्जिन लेन्डिङ गर्न पाउने व्यवस्था लागू गर्यो ।
सेयर बजार, धितोपत्र बोर्ड र नेप्से
अन्तर्राष्ट्रिय संस्था केयर रेटिंग, विशाल ग्रुप र इमर्जिंग नेपालबीच नयाँ रेटिङ एजेन्सी सञ्चालनमा ल्याउने सम्बन्धमा त्रीपक्षीय सम्झौता भयो । नेपाल धितोपत्र बोर्डले नियमनकारी निकायहरुको अलग व्यवस्था नभएका बैंक, बीमा र लघुवित्त बाहेकका सुचिकृत कम्पनीहरुलाई तत्काल हकप्रद र नयाँ शेयर निष्काशन (एफपिओ) जारी गर्न रोक लगायो । शेयर कारोबारको रकम समयमा सेटल नगरेका कारण स्टक ब्रोकर नम्बर ५२ सुनधारा सेक्युरिटिज एक साताका लागि निलम्बित भयो ।
मर्जर तथा एक्विजिसन
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले कालिञ्चोक डेभलपमेन्ट बैँक लिमिटेड र मातभुमी विकास बैँक लिमिटेडलाई खरिद गर्ने सम्झौता भयो । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एकआपसमा गाभिएर महालक्ष्मी विकास बैंक बन्यो । नयाँ राष्ट्रियस्तरको विकास बैंकको रुपमा महालक्ष्मीले आगामी आइतबारदेखि कारोबार थाल्नेछ ।
सेयर निष्काशन तथा वितरण
सूर्योदय लघुवित्तले यो साता आईपीओ निष्काशन गर्यो, जसमा ३ दिनमै १ सय ५४ गुणा आवेदन पर्यो । बुधबारदेखि नै कम्पनीले सेयर निष्काशन बन्द गर्यो । यसै साताको सोमबारदेखि वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्यो । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्विकृति पायो । प्राईम कमर्सियल बैंकले तीन बराबर एक अर्थात ३ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्यो । माउण्ट मकालु डेभलपमेण्ट बैंकको १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद शेयर विहिबारदेखि खुल्यो । गुडविल फाइनान्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिसत नगद लाभांस दिने प्रस्ताव अघि सार्यो । सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस तथा कर प्रायोजनका लागि सबै शेयरधनीलाई ५ लाख ७८ हजार ९ सय ४७ रुपैंया नगद लाभांस बितरण गर्ने निर्णय गर्यो । माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निष्काशनका लागि सिभिल क्यापिटललाई सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा नियुक्त गर्यो । तिनाउ डेभलपमेन्ट बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्यो । युनाइटेड फाइनान्सले पनि २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सार्यो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि कम्पनीले कुल १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति पायो । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थाले १ सय रुपैयाँ अंकित दरका ९४ लाख ८० हजार रूपैयाँ बराबरका ९४ हजार ८ सय कित्ता आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दियो ।
शाखा, सेवा तथा प्रविधि विस्तार
साताको मंगलबारदेखि राजधानीमा सवारी साधनहरुको कुम्भमेला मानिने नाडा अटो शो सुरु भयो । यसैको अवसर पारेर विभिन्न बैंकहरुले गाडीकर्जामा सहुलियत व्यादर कायम गरे । नेपाल क्लियरिङ्ग हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा क्रमशः डिभिडेन्ड (लाभाशं) भुक्तानी, आईपीओ रिफन्ड, रेमिटेन्स भुक्तानी र तलब भुक्तानीलाई समावेश गर्यो । सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण कार्यक्रमको आयोजना गर्यो । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरिरहेको “कैलाश विकास बैंक लि.” ले पोखराको बिरौटामा आफ्नो ३७ औँ शाखा संचालनमा ल्यायो । कृषि विकास बैंक यसै सातदेखि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा गयो । मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का÷मदिनामा जाने तीर्थालु नेपाली हजयात्रीहरुको सुविधाको लागी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हजयात्रीहरुलाई आवश्यक पर्ने साउदी रियाल सटही सुविधा प्रदान गर्यो । बुम रेमिट्यान्स प्रा लिले पूर्णिमा बिकास बैक लि र एभरेस्ट फाइनान्स लि लाई सोमबार आफ्नो एजेन्टमा नियूक्त गर्यो । एनएमबि बैंकले पाल्पा, भैरहवा र दमक गरी एकै साथ तीन नयाँ शाखाहरुको सुरुवात गर्यो । तपाईँ‘खुसीको खाता खोल्नुहोस् भन्ने सन्देशका साथ न्युनतम ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्यायो ।
अन्य
विश्वव्यापी बीमा प्रदायक कम्पनी मेटलाइफ दुई स्टिभ अवार्डबाट सम्मानित भयो । विहीबारदेखि नुवाकोटको मदानपुरमा आशा लघुवित्त वित्तीय संस्था नामको नयाँ राष्ट्रिय स्तरको लघुवित्त संस्था सञ्चालनमा आयो ।





