२०७३ भाद्र १६ गते

अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पनि : दिनदिनै घट्दै सुनको भाउ

goldविहीबार पनि सुन सस्तिएको छ । बुधबार तोलाको ३ सय रुपैयाँ सस्तिएको सुन विहीबार पनि तोलाको ३ सय रुपैयाँका दरले सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, विहीबार नेपाली बजारमा छापावाल सुन तोलाको ५८ हजार १ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५७ हजार ८ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ५८ हजार ४ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार १ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

अहिले अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य ओरालो लागिरहेको छ । यसैको प्रभाव नेपाली बजारमा पनि देखिएको हो । विश्वभरिका वित्तीय बजारमा लगानीकर्ताहरूले अमेरिकी रोजगारी तथ्याङ्कको पर्खाइमा बस्दै लगानी थाती राख्न थालेपछि सुनको भाउ घटेर २ महीनाकै न्यून बिन्दुमा आएको बताइएको छ । बुधवार कारोबार शुरू भएदेखि नै सुनको भाउ ओरालो लागेको थियो । उक्त दिनको कारोबारमा स्पट गोल्डको भाउ प्रतिऔंस १ हजार ३ सय ८ डलर ६६ सेण्टको न्यूनतम बिन्दुुमा ओर्लिएको थियो । बुधबार नेपाली समयअनुसार साँझ ६ः३५ बजे स्पट गोल्ड प्रतिऔंस १ हजार ३ सय ९ डलर शून्य ८ सेण्टमा किनवेच भएको थियो । उता, सोही समयमा डिसेम्बर डेलिभरीको यूएस् गोल्ड फ्युचर्स पनि १ हजार ३ सय ८ डलर ८५ सेण्टमा किनवेच भइरहेको थियो ।

सुनसँगै चाँदी पनि विहीबार सस्तिएको छ । बुधबार स्थिर रहेको चाँदीको भाउ विहीबार तोलाको ५ रुपैयाँका दरले घटेको महासंघले जनाएको छ । जसअनुसार नेपाली बजारमा चाँदीको कारोबार तोलाको ८ सय ५० रुपैयाँका दरले भइरहेको छ । यसअघि, बुधबार चाँदी तोलाको ८ सय ५५ रुपैयाँका दरले कारोबार भइरहेको थियो ।