November 14th, 2021

नेपाली बैंकिङ इसितहासको ८५ बर्ष : धातुका सिक्कादेखि डिजिटल वालेटसम्म

बैंकिङ खबर । नेपाल बैंक नेपालको पहिलो बैंक हो । जसको जन्म १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् । नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको पुंजी संरचना शुरुआतमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा विचको अवधीमा उक्त अनुपातमा परिवर्तन हुंदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ भने बैंकको चुक्तापूँजी २०७८ आषाढमा रु. १२ अर्व ६४ करोड पुगेको छ जुन बैंकको महत्वपुर्ण उपलब्धी हो । बैकका वित्तीय परिसूचकहरुले उत्साहजनक नतिजाहरुका साथ बैंकको सफलतालाई देखाएको छ । बैंकको Financial Position तथा Performance बाट शेयरधनी, व्यवस्थापन एवं सम्पूर्ण सरोकारवाला समक्ष सकारात्मक उर्जा प्राप्त भएको छ । २ दशक भन्दा बढि समयसम्मख लाभांस बितरण नगरेको यस बैंकले आ.व. २०७६/७७ देखि लाभांस बितरण गर्न थालिसकेको छ । यसका उत्साहजनक वित्तीय परिसूचकहरुले गर्दा यस बैंक प्रति पुंजीबजारका लगानीकर्ताको आकर्षण बढ्दो छ ।

नेपालमा बैंकिङ इतिहास

ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यससमयमा पैसाको चलनचल्ती नै थिएन । 

वस्तु विनिमयको प्रचलन
मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । 

कौडी : जसले बढायो मुद्राको महत्व
विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । 

मुद्राको सुरुवाती युग
वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । यस प्रचलनले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो भयो । यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

त्रिभुवनका पालामा कागजी नोट
नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

आधुनिक युग : विनिमयमा थप सरलता 

आधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्रा्ष्ट्रिय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्रा्ष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रि व्यापार गरिँदै आएको छ । विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ । मुद्रा अब कुनै राष्ट्रको सिमाभित्र मात्र सीमित नरही यसको अन्तरसम्बन्ध पनि त्यतिकै महत्वको विषय बनिसकेको छ । तसर्थ प्रत्येक राष्ट्रले निश्चित अन्तर्रा्ष्ट्रिय मुद्राहरुलाई विनिमय योग्य मान्दै ती मुद्राहरुको परिपत्र दर सोहि देशको केन्द्रीय बैंकले निर्धारण गर्ने गर्दछन् ।

डिजिटल प्रयोगमा उछाल

नागरिकहरुमा डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै डिजिटल प्रयोगमा आकर्षण बढ्दै गएको बताएको हो । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । 

उपभोक्ताको दायित्व
मानव जीवनसँग जोडिएका सरल, सहज, झन्झट, सुविधा, विकासजस्ता विषयहरू सापेक्ष छन्, अर्थात् यी विषयलाई सापेक्षतामा हेर्नु आवश्यक छ । जीवन कहिल्यै सरल हुँदैन, ‘भन्दा सरल’ हुन्छ । वस्तुविनिमय प्रणालीको युगमा भन्दा धातुमुद्राको युगमा जीवन निकै सरल थियो । तर, आजको विद्युतीय कारोबारको युगको अपेक्षामा त्यही धातुमुद्राको युगमा जीवन कैयौँ गुना कठिन थियो । हिजो जीवनलाई निकै सरल बनाएको कागजी मुद्रा आज झन्झटको भारी बनिसकेको छ । सापेक्षतावादको यही सिद्धान्तमा टेकेर जीवनलाई थप सरल, सहज र सुविधायुक्त बनाउँदै लानु मानवको धर्म र अद्वितीय क्षमता पनि हो । यही नै विकासक्रम हो र व्यक्ति र समाजको प्रगतिको आधार हो । मानवीय आवश्यकता पूर्तिकै लागि विकास हुन्छ र त्यही विकासप्रदत्त नवीनतम ज्ञान र प्रविधिको अभ्यासमै व्यक्ति र समाजको प्रगति निर्भर गर्छ । त्यसैले नवीनतम प्रविधिहरूको प्रयोगमा अभ्यस्त भएर समाज र देशको विकासमा सहयोगी भूमिका खेल्नु हामी सबैको दायित्व हो, जसले सबैभन्दा बढी प्रयोगकर्तालाई नै लाभ पुर्‍याउँछ ।

विद्युतीय भुक्तानी जटिल विषय बिलकुलै होइन । मोबाइल फोनको सामान्य प्रयोग गर्न जानेका, अक्षर र अङ्क चिनेका र इन्टरनेटको कामबारे सामान्य जानकारी हासिल गरेका हामीमध्ये जोकोही यो सुविधाको सुरक्षित प्रयोग गर्न योग्य छौँ । सिकाइका लागि केही समय खर्चिन झन्झट मानेर जीवनभर झन्झटका अनेकन भारी बोक्नुभन्दा एकपटक सिक्नु उत्तम विकल्प हो । आखिर चाहेर–नचाहेर एकदिन त सिक्नु नै छ । सिकाइ यस्तो विषय हो जुन जन्मेदेखि मृत्युपर्यन्त चलि नै रहन्छ । सिकाइले हामीलाई आत्मनिर्भर बनाउँछ, आफूमाथि विश्वास पैदा गराउँछ जुन प्रगतिको आधार सिद्ध हुन्छ । त्यसैले आजै सिकौँ र विद्युतीय भुक्तानीलाई दैनिक जीवनको अभिन्न अंग बनाऔँ । यसले हाम्रो समय र श्रमको मात्र होइन, पैसको पनि वचत गर्छ । बारम्बार भइरहने यो वचतलाई सिर्जनात्मक कार्यमा लगाउन सकिएमा जीवनमा नसोचेको परिवर्तन आउन सम्भव छ । हामीले आज चालेको यो सानो कदम आफू, समाज र देशको सर्वाङ्गीण विकासमा कोसेढुंगा सावित हुन सक्छ ।

जहाँसम्म पहुँच अभाव र अन्य चुनौतीका प्रसंग छन्, यी विस्तारै न्यून हुँदै जानेछन् । यीमध्ये कतिपय हाम्रै त कतिपय सेवाप्रदायकको सक्रियताले सम्बोधित हुनेछन् । उदाहरणका लागि विद्युतीय भुक्तानीमा हाम्रो सक्रियता बढेसँगै बढ्दो मागले इन्टरनेट सेवाको विस्तार र गुणस्तर वृद्धिका लागि सेवाप्रदायकहरू बाध्य हुनेछन् । सेवाविस्तारसँगै शुल्क पनि कम हुँदै जानेछ । राज्य र तिनका नियामक निकायले पनि यो अभियानको सफलताका लागि उचित कदम चाल्ने नै छन् । हिजो सेवाप्रदायक वित्तीय संस्थाहरू हाम्रो अपेक्षाअनुसारको सुविधा दिन नसक्ने अवस्थामा थिए । आज बैंकिङ क्षेत्रले यति लामो छलाङ लगाइसकेको छ कि सेवाप्रदायकको गतिमा हामी सेवाग्राही हिँड्न सकिरहेका छैनौँ । तसर्थ, लाज नमानी सिकौँ, झन्झटको भारी सावित भइसकेको नोटको प्रयोग यथासम्भव घटाऔँ र डिजिटलाइजेसनको यो महान् अभियानलाई सफल पारौँ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]