२०७३ भाद्र १६ गते

यसरी सुरु भयो नेपालमा ‘पैसाको कारोबार’

coinsईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यससमयमा पैसाको चलनचल्ती नै थिएन । 

वस्तु विनिमयको प्रचलन
मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । 

कौडी : जसले बढायो मुद्राको महत्व
kaudiविनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । 

मुद्राको सुरुवाती युग
वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । यस प्रचलनले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो भयो । यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

त्रिभुवनका पालामा कागजी नोट
moneyनेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

आधुनिक युग : विनिमयमा थप सरलता 

bankingआधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्रा्ष्ट्रिय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्रा्ष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रि व्यापार गरिँदै आएको छ । विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ । मुद्रा अब कुनै राष्ट्रको सिमाभित्र मात्र सीमित नरही यसको अन्तरसम्बन्ध पनि त्यतिकै महत्वको विषय बनिसकेको छ । तसर्थ प्रत्येक राष्ट्रले निश्चित अन्तर्रा्ष्ट्रिय मुद्राहरुलाई विनिमय योग्य मान्दै ती मुद्राहरुको परिपत्र दर सोहि देशको केन्द्रीय बैंकले निर्धारण गर्ने गर्दछन् ।