नेपालको वित्तीय सुधारका लागि नयाँ रेटिङ एजेन्सी सञ्चालनमा ल्याइने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल रेटिङ एजेन्सी नामक नयाँ संस्था सञ्चालनको अन्तिम तयारी भइरहेको जनाएको छ । नेपाल र अमेरिकाको संयुक्त लगानीमा स्थापना हुन लागेको उक्त एजेन्सीलाई बोर्डले आवश्यक अनुसन्धान गरी स्विकृति दिएपछि सञ्चालनमा ल्याइनेछ । हाल इक्रा नेपालले नेपालको एक मात्र रेटिङ एजेन्सीको रुपमा काम गरिरहेको छ । कम्पनीले अहिले बैंक तथा वित्तीय संस्था तथा सेयरको निस्कासन गर्ने कम्पनीको रेटिङ गर्दै आएको छ ।
उक्त कम्पनीमा वित्तीय क्षेत्र सुधार गर्न दुई सय देशमा सेवा दिँदै आएको अमेरिकी कम्पनी डन एन्ड ड्राबस्ट्रिट ६० प्रतिशत लगानी रहनेछ भने २४ प्रतिशत लगानी वाणिज्य बैंकको र बाँकी लगानी व्यवस्थापन समूहको हुनेछ । एजेन्सीले कम्पनीको सेयर तयार पारिसकेको छ । कम्पनीको अनुमानित संरचना तयार भइसकेको छ । बोर्डबाट अनुमति पाउनेवित्तीकै सञ्चालनमा ल्याउने तयारीमा लगानीकर्ता छन् । एक सय ८० वर्ष पुरानो अमेरिकी कम्पनीको संयुक्त लगानीमा स्थापना हुने ‘नेपाल रेटिङ एजेन्सी ज्वाइन्ट भेञ्चर विथ डीएनभीले कम्पनीको रेटिङका साथै अन्य वित्तीय सेवा पनि उपलब्ध गराउनेछ ।



