२०७३ भाद्र १४ गते

यसकारण घट्दैछ सर्वसाधारणले बैंकमा राखेको पैसा

money-3बढ्दो उपभोक्ता मूल्यवृद्धि र बैंकहरुले दिने व्याजदरबीच तालमेल नमिलेका कारण सर्वसाधारणले बैंकमा पैसा राख्दा घाटा व्यहोर्नु परेको छ । सामान्य रुपमा हेर्दा रकम घटेको नदेखिएतापनि महंगीका कारण त्यसको मौद्रिक मूल्य (मनिटरी भ्यालू) भने घटेको हो । बैंकले दिने व्याजदर ग्राहकको आम्दानी हो भने र महँगीको वृद्धिदर ग्राहकको खर्च हो । मुलुकमा लगानीयोग्य वातावरण नहुँदा बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिएपछि बैंकहरुले व्याजदर घटाएका छन् भने मूल्यवृद्धिदर वर्षेनि आकाशिरहेको छ । यसले गर्दा बैंकमा पैसा राख्दा ग्राहकको आम्दानीभन्दा खर्च बढि भइरहेको छ । 

अहिले बैंकहरुले निक्षेपमा औषत ३.२८ प्रतिशत व्याज दिन्छन् । जसअनुसार एक वर्षअघि तपाईले कुनै बैंकमा १ लाख रुपैयाँ निक्षेप राख्नु भएको थियो भने अहिले तपाइँको पैसा बढेर १ लाख ३ हजार २ सय ८० रुपैयाँ भएको छ । अहिले मुलुकको औसत मुल्यवृद्धिदर ९.९ प्रतिशत छ । जसअनुसार, एक वर्षअघि एक लाख रुपैयाँमा जति सामान किन्न सक्नुहुन्थ्यो, त्यति सामान किन्नका लागि अहिले १ लाख ९ हजार ९ सय रुपैयाँ खर्च गर्नुपर्छ । यस हिसाबले एक वर्षअघि तपाईले बैंकमा १ लाख रुपैयाँ राख्नु भएको थियो भने अहिले तपाईले ६ हजार ६ सय २० रुपैयाँ गुमाउनु भएको छ । 

नेपाल राष्ट्र बैंकले व्याजदर कोरिडोर लागू गरेपछि भने बैंकहरुले व्याजदर केही बढाउन थालेका छन् । यसबाट ग्राहकले केही राहत पाउने अपेक्षा गरिएको छ ।