केही वर्षअघिसम्म बैंकबारे शून्य जानकारी भएकाहरुमा पनि केही वर्षयता बैंकिङ सेवाहरुप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले चलाएको वित्तीय साक्षारता अभियानले पनि बैंकिङ सेवाप्रति ग्राहकको ध्यान खिचिरहेको हो । सेवाग्राहीको संख्याको आधारमा बैंक विस्तार संख्या पनि स्वभाविक रुपमा बढ्दै गइरहेको छ । यसको प्रभाव बैंक संचालनका लागि आवश्यक कर्मचारी संख्यामा पनि पर्छ । अर्थात् थपिएका बैंकिङ शाखाहरुमा कर्मचारीहरुको संख्या पनि थप गर्नुपर्ने हुन्छ । यस हिसाबले बैंक तथा वित्तीय संस्थाले कर्मचारीमा गर्नुपर्ने खर्चको अनुपात पनि बढेको पाइएको छ ।
अन्य संस्थाहरुको तुलनामा बैंकहरुले कर्मचारीको प्रभावकारीतालाई मुल्याङकन गर्ने भएकाले, बजारमा मुल्य वृद्धि भएसँगै प्रत्येक वर्ष बैंकका कर्मचारीको तलब बढाउनुपर्ने भनाइ बैंकका सम्बन्धित अधिकारीको छ । कर्मचारीको तलबसँगै तालिम र भत्ता पनि बढाउनुपर्छ । त्यस्तै शाखा बैंकलाई थप कर्मचारीको आबश्यकता हुन्छ । यसरी उनीहरुका लागि गर्नुपर्ने खर्च पनि थप हुन्छ । जसले गर्दा बैंकमा कर्मचारीका लागि छुट्याउनुपर्ने खर्च बढि भएको बैंकका अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा कार्यरत करिब २७ हजार कर्मचारीमध्ये सरकारी स्वामित्वका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित अन्य २५ ओटा वाणिज्य बैंकमा गरी जम्मा २२ हजार ४ सय ६५ जना कर्मचारीले काम गरिरहेका छन् । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले कर्मचारीका लागि मासिक १ अर्ब ५८ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । यो रकम मध्ये सबैभन्दा बढि कर्मचारी खर्च सरकारी स्वामित्वमा रहेका तीन बैंकहरुले गर्छन् । तीमध्ये पनि नेपाल बैंकको कर्मचारी खर्च तुलनात्मक रुपमा कम छ भने कृषि विकास बैंकको बढि छ ।
गत आर्थिक वर्षमा कृषि विकास बैंकले कर्मचारीका लागि ३ अर्ब २४ करोड रुपैयाँ खर्च गर्यो । यो अन्य बैंकभन्दा धेरै हो । तर, यो वर्ष कर्मचारीहरूको अवकाश कोषमा १ अर्ब २४ करोड रुपैयाँ छुट्टयाइएकाले यो शीर्षकको खर्च बढेको बैंक सम्बन्धित स्रोतले जनाएको छ । यस बैंकमा आव ०७१/७२ मा २७ सय ३९ जना कर्मचारी कार्यरत रहेकोमा आव ०७३/७४मा बैंक कर्मचारी संख्या घटेर २४ सय ३० जनामा आएको छ । बैंकबाट अवकास हुने कर्मचारीको संख्या बढेको कारण हाल बैंकमा कार्यरत कर्मचारी संख्या अघिल्लो आवको तुलनामा घटेको हो ।
यस्तै करिब २ हजार ८ सय कर्मचारी कार्यरत राष्ट्रिय वाणिज्य बैंकले आव ०७२/७३ मा कर्मचारीका लागि २ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ । यो सोही आर्थिक वर्षको बैंकको खुद मुनाफासँग भण्डै नजिक–नजिकको रकम हो । अघिल्लो आर्थिक वर्षमा कर्मचारी खर्च २ अर्ब ६७ करोड रुपैयाँ थियो । सरकारी बैंकहरूमध्ये २ हजार ७ सय कर्मचारी कार्यरत नेपाल बैंकको कर्मचारी खर्च तुलनात्मक रूपले कम छ । आव ०७२/७३ मा यो बैंकको कर्मचारी खर्च २ अर्ब १८ करोड रुपैयाँ भएको छ भने अघिल्लो आव ०७१/७२ मा बैंकको कर्मचारी खर्च २ अर्ब ४३ करोड रुपैयाँ थियो ।
निजी बैंकहरूमा सबैको कर्मचारी खर्च १ अर्बभन्दा कम छ । तीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्ने निजी बैंकहरुमा हिमालयन र नविल बैंक रहेका छन् । आव ०७२/७३ मा हिमालयन बैंकको कर्मचारी खर्च ९० करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो बैंकको कर्मचारी खर्च ९१ करोड रहेको थियो । त्यस्तै धेरै कर्मचारी खर्च गर्नेमध्येको दोस्रोमा पर्ने नबिल बैंकले आव ०७२/७३ मा ७७ करोड ३५ लाख रुपैयाँ कर्मचारीका लागि खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा जनता, हिमालयन र नेपाल बैंकको कर्मचारी खर्च घटेको छ, भने बाँकि निजी बैंकहरुको कर्मचारी खर्च सामान्य रुपमा बढेको छ । हाल बैंकहरूमा तल्लो तहका कर्मचारीको मासिक तलब १८ देखि २० हजार रुपैयाँ रहेको श्रोतको दाबी छ ।
प्रस्तुतिःशारदा भण्डारी




