नेपाल राष्ट्र बैंकले आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा घटाउँदै लगेको छ । हाल आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा ४९.५६ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षसम्म नेपाल राष्ट्र बैंकले २ खर्ब ३४ अर्ब आन्तरिक ऋण उठाएको छ । जसमध्ये १ खर्ब १६ अर्ब ५ करोड ९१ लाख ७ हजार रुपैयाँ ट्रेजरी बिलबाट उठाइएको छ । आर्थिक वर्ष ०७१/०७२ मा कुल आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा ६०.९ प्रतिशत थियो भने त्यसअघिको वर्ष २ खर्ब १ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋणको ६७.६२ प्रतिशत ऋण ट्रेजरी बिलबाट उठेको थियो ।
नेपाल राष्ट्र बैंक ऋण व्यवस्थापन विभागले दीर्घकालीन बचत तथा ऋणपत्रको हिस्सा बढाउनका लागि योजनावद्ध रुपमा ट्रेजरी बिलको हिस्सा घटाइँदै लगेको बताएको छ । अर्थमन्त्रालय अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापनसम्बन्त्री समितिले पनि अल्पकालीनभन्दा दीर्घकालीन ऋणपत्रमा जोड दिएपछि राष्ट्र बैंकले ट्रेजरी बिलको हिस्सालाई विस्तारै घटाउँदै लगेको हो । दीर्घकालीन ऋणपत्र तथा बचतपत्र विक्रि गर्दा आगामी दिनमा व्याजदर कुन दिशामा जाँदैछ भन्ने थाहा हुन्छ । तर, छोटो अवधिको ऋणपत्रले व्याजदरमा उतारचढाव ल्याउने हुन्छ । त्यसैले, व्याजदरमा सन्तुलन कायम गर्नका लागि पनि सरकारले छोटो समयावधिको ट्रेजरी बिललाई विस्तारै कम गर्दै लगेको जनाएको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । हाल राष्ट्र बैंकले ९० दिने, १८२ दिने र एक वर्षे अवधिको ट्रेजरी बिल जारी गर्दै आएको छ । यसअघि २८ दिने ट्रेजरी बिल पनि प्रचलनमा रहेकोमा सो प्रचलन राष्ट्र बैंकले छोडिसकेको छ ।