जुलाई महिनामा चीनको सेवा व्यापारघाटा बढेको छ । तथ्यांकअनुसार गत महिना सेवा क्षेत्रबाट भएको आम्दानी र व्यापार २३.१ अर्ब डलर रहेकोमा खर्च भने ४५.६ अर्ब डलर पुगेको छ । आम्दानी र खर्चको यो अवस्थाले चीनले जुलाईमा २२.५ अर्ब डलरको सेवा व्यापारघाटा बेहोरेको देखाएको छ । यो घाटा जुनको कुल १९.४ अर्ब डलर र मेको १९.१ अर्ब डलरको दाँजोमा बढी हो । यातायात, पर्यटन, दूरसञ्चार, निर्माण, विज्ञापन, कम्प्युटिङ र लेखालगायतलाई सेवा व्यापारमा समावेश गरिएको छ ।
सेवा व्यापारको आकार सन् २०१० को ३६२.४ अर्बबाट बढेर सन् २०१५ मा ७१३ अर्ब डलर पुगेको थियो । यो अन्तरराष्ट्रिय औसत वृद्धि गतिको दाँजोमा दोब्बर हो । चीनले आगामी सन् २०२० सम्म सेवा व्यापारको आकारलाई १० खर्ब डलर पुर्याउने लक्ष्य लिएको छ । स्टेट काउन्सिलले व्यापार र सेवाको विकासमा सुधार ल्याउने नीति घोषणा गर्ने जनाएको छ । यसमा वित्त, शिक्षा, संस्कृति र चिकित्सालगायतका क्षेत्रलाई खुला गरिने बताइएको छ ।
सेफले शोधनान्तर तथ्यांकमा पारदर्शिताको अवस्थामा सुधार गर्न २०१४ को जनवरीबाट सेवा र व्यापारको मासिक तथ्यांक सार्वजनिक गर्न सुरु गरेको थियो । जुलाईमा चीनले सामानको व्यापारमा ५० अर्ब डलर बचत गरेको थियो । यो जुनको ४५.१ अर्ब डलरको दाँजोमा बढी भएको सेफले जनाएको छ ।



