२०७३ भाद्र १३ गते

मर्जर टुटेको छट्पटीमा ‘जनता बैंक’

janata bank 1वि.स.०६७ सालमा स्थापना भएका सिभिल र सेन्चुरी बैंक भन्दा एक वर्ष अघि ०६६ सालमा स्थापना भएको जनता बैंक कान्छा वाणिज्य बैंक अन्तर्गत तेस्रो स्थानमा पर्छ । स्थापनाको मात्र सातौँ वर्षको कार्यकालमा चलिरहेको यस बैंकको प्रवद्र्धन तथा ग्राहक आकर्षण क्रमिक रुपमा बढिरहेको देखिन्छ । यही अवस्थामा जनता बैंकले ठुलो चुनौती सामना गर्नुपर्ने बेला आएको छ । राष्ट्र बैंकले वित्तीय अवस्था सुधार तथा मजबुतिका लागि भनेर सबै वाणिज्य बैंकहरुलाइ आगामी आर्थिक वर्ष ०७४ सम्ममा आ–आफ्नो बैंकको चुक्ता पुँजी ८ अर्व पुर्याउनै पर्ने व्यवस्था लागु गरेसँगै जनता बैंकलाई चुनौति थपिएको हो । आर्थिक वर्ष ०७२/७३ सम्मको बैंकको वित्तीय विवरणको तथ्याङकलाई आधार मान्ने हो भने बैंकको चुक्ता पुँजी २ अर्व ६ कारोडमात्र छ ।

पहिलो प्राथमिकता थियो मर्जर
राष्ट्र बैंकले तोकेको मितिसम्म चुक्ता पुँजी ८ अर्व पुर्याउनका लागि मर्जरलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो बैंकको पुँजी वृद्धि योजना तयार गरेको जनता बैंकले सर्वप्रथम मेगा बैंकसँग मर्जरमा जाने सहमति गरेको थियो । तर मेगासँग मर्जरमा गएर एकिकृत कारोबार गर्ने मौखिक सहमति लिखित सम्झौतामा कार्यान्वयन हुन नपाउँदै यी दुइ बैंकबीचको मर्जर प्रक्रिया यतिकैमा थन्किन पुग्यो ।
यसलगत्तै ०७२ असौज ३ गते माछापुच्छ्रे बैंकसँग मर्जरमा जाने र एकिकृत कारोबार संचालन गर्ने निर्णयका साथ यी दुइ वाणिज्य बैंकका अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यहाँ पनि सम्झौता पछिको सात महिनाको अथक प्रयासपछि अन्ततः यी दुइ बैंक बीचको मर्जर प्रक्रिया टुट्न पुग्यो । मेगा बैंकसँगको मर्जर कार्य असफल भएको करिब सात महिनामै माछापुछ्रे बैंकसँगको मर्जर सम्झौता पनि अघि बढ्न नसक्ने भएपछि जनता बैंकलाई अब के गर्ने भन्ने सकस थपिएको छ ।  

किन टुट्यो त मर्जर ?
माछापुच्छ्रे्र र जनता बैंकको मर्जर प्रक्रियाले अन्तिम रुप लिन नसक्नुको आधिकारिक कारण स्वाप रेसियोमा भएको विवाद भनेर खबर सार्वजनिक भएपनि, यी बाहेकका अन्य विषय पनि विवादमा देखिएका छन् । मर्जर प्रक्रिया करिब अन्तिम चरणमा पुगेपछि जनता बैंकले डीडीएको क्रममा कायम शेयर मुल्यमा चित्त नबुझाएको, अनावश्यक विषयमा बढि वहस गरेको र जनता बैंकमा संचालकहरुको संख्या धेरै भएको भन्दै माछापुच्छ्रे बैंक जनता बैंकसँगको मर्जर प्रक्रियाबाट बाहिरिएको भन्ने कुरापनि बाहिर आएका हुन् । 

जनता बैंकले मर्जर तोडिए लगत्तै यसको जानकारी नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई दियो । त्यसपछि मात्र ८ अर्व चुक्ता पुँजी योजनाका बारेमा साधारणसभा मार्फत छलफल सुरु गरेको हो ।

मर्जर टुटेपछिको पुँजी योजना
माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि भएको साधारणसभामा बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । यसै क्रममा जनता बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । साथै माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया टुटे पनि  जनता बैंकले अझै मर्जरलाई प्राथमिकतामै राखेको जनाएको छ । यसबाहेक बैंकले बैदेशिक रणनीतिक साझेदार भित्र्याउन आवश्यक प्रक्रिया समेत गर्ने भएको छ ।

अब के गर्छ बैंकले ८ अर्व पुँजी पुर्याउनका लागि
राष्ट्र बैंकको समानुपातिक पुँजी योजना अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको अन्तमा ४ अर्व चुक्ता पुँजी पुर्याउनुपर्ने हो । तर जनता बैंकले आजसम्ममा लिएका कुनै पनि कदमले आगामी असार मसान्तसम्मा ८ अर्व चुक्ता पुँजी पुर्याउन नसक्ने देखिन्छ । त्यसैले राष्ट्र बैंकको निर्देशन पालना गर्नका लागि बैंकले अर्को कुनै वाणिज्य बैंक वा दुई भन्दा बढी ठुलो पूँजी भएका विकास बैकलाई गाभ्नुपर्ने देखिन्छ ।