२०७३ भाद्र १२ गते

सम्पत्ति व्यवस्थापनका लागि छुट्टै कम्पनी खोल्ने योजनामा नेपाल बैंक

nepal bankनेपाल बैंकले छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्नेबारे सञ्चालक समितिमा छलफल सुरु गरेको छ । बैंकद्धारा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जनार्दन आचार्यले यस्तो जानकारी दिएका हुन् । गत बर्ष केहि गैर बैंकिङ सम्पत्ति बिक्री गरेपनि बैंकसँगै अझै ठुलो मात्रामा घर जग्गा लगायतका सम्पत्ति रहेको  तथा बैंकिङ र सम्पत्ति व्यवस्थापन दुबै गर्न अप्ठेरो भएकाले छुट्टै कम्पनी खोल्ने प्रस्ताव अघि सारेको उनले बताए । 

सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले न्युरोडको बहुमुल्य १४ रोपनी जमिन ओगटेर केन्द्रिय कार्यालय राखि राख्न आवश्यक नभएको बताए । ’भूगोलपार्कको अति मूल्यवान जग्गामा त्यत्रो क्षेत्रफल ओगटेर केन्द्रिय कार्यालय राखि रहन आवश्यक छैन’ आचार्यले भने ’उक्त जग्गालाई उत्पादनमुलक काममा लगाइयो भने त्यहाँबाट दिगो आय गर्न सकिन्छ ।’ न्युरोडमा कर्पोरेट कार्यालय मात्र राखेर अरु जमिन व्यवसायीक प्रयोजनमा लगाउनु उपयुक्त हुन्छ । अब ’बैंकको पुँजीकोष धनात्मक भएको र पुँजी पर्याप्तता अनुपात पनि पुगेको छ’ उनले भने ’त्यसैले हामी अब हामी यस्ता नयाँ भेञ्चर सुरु गर्न सक्छौँ ।’   

रणनीतिक साझेदार भित्र्याउने
रणनीतिक साझेदारबारे छलफल जारी नेपाल बैंकमा रणनीतिक साझेदार भित्र्याउनेबारे पनि छलफल जारी रहेको उनले बताए । सरकारसँग रहेको सेयर कुनै सक्षम वित्तीय संस्थालाई बिक्री गरि बैंकमा रणनीतिक साझेदार ल्याउन पहल भइ रहेको उनले जानकारी दिए । अहिले बैंकमा सरकारको ६२ प्रतिशत भन्दा धेरै सेयर छ । त्यहि सेयर रणनीतिक साझेदारलाई बिक्री गरि भित्र्याउनुपर्ने उनको राय छ ।  

त्यस्तै, पहिलो पटक पुँजी कोष पर्याप्तता अनुपात राष्ट्र बैंकले तोके सरह पुर्याएको नेपाल बैंकले सम्पत्ती बिक्री बाहेक पनि मनग्य नाफा गर्न सफल भएको स्पष्ट पारेको छ । ‘नाफामा सम्पत्ती बिक्रीबाट पुगेको योगदान १ अर्ब १४ करोड मात्रै हो, त्यसबाहेक साविक सञ्चालनबाटै १ अर्ब ८६ करोड रुपैयाँ नाफा भएको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बताए । बैंकले आव २०७२/७३ मा ३ अर्ब १ करोड नाफा कमाएको छ ।