२०७३ भाद्र १२ गते

एक वर्षमा उठ्यो ४ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व

rajaswaआर्थिक वर्ष २०७२/७३ मा नेपाल सरकारले ४ खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाएको छ । सरकार अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको हो । अघिल्लो वर्ष सरकारको राजस्व १३.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको थियो । उक्त राजस्व वार्षिक बजेट लक्ष्यको १०१.६ प्रतिशत हो । गत वर्ष सरकारले ४ खर्ब ७५ अर्ब १ करोड रुपैयाँको वार्षिक वजेट लक्ष्य लिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा राजस्व/कुल गार्हस्थ्य उत्पादन अनुपात १९.१ प्रतिशत रहेकोमा गत वर्ष यस्तो अनुपात २१.५ प्रतिशत पुगेको छ । 

राजस्वका शीर्षकहरूमध्ये मूल्य अभिवृद्धि करबाट सबैभन्दा धेरै १ खर्ब २२ अर्ब ७ करोड रुपैयाँ परिचालन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सो राजस्व ११.३ प्रतिशतले बढेर १ खर्ब १२ अर्ब ३८ करोड पुगेको थियो । त्यस्तै, आयकर राजस्व ३२.४ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर राजस्व ३०.३ प्रतिशतले बढेर ८८ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो । भन्सार महसूलबाट प्राप्त हुने राजस्व १०.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ४.२ प्रतिशतले घटेर ७४ अर्ब ६७ करोड रुपैयाँमा सिमित भएको यस्तो राजस्व यो वर्षमा ८२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, एक वर्षको अवधिमा अन्तःशुल्क २९.८ प्रतिशतले बढेर ६९ अर्ब ४५ करोड रुपैयाँ परिचालन भएको छ । अघिल्लो वर्ष ५३ अर्ब ५३ करोड रुपैयाँ बराबरको अन्तःशूल्क परिचालन भएको थियो । 

मूल्य अभिवृद्धिकरको हिस्सा सबैभन्दा धेरै
नेपाल राष्ट्र बैंकका अनुसार कुल राजस्व परिचालनमा मूल्य अभिवृद्धि करको अंश सबैभन्दा बढी अर्थात् २५.३ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः आयकर (२४.३ प्रतिशत), भन्सार महसूल (१७.२ प्रतिशत) र अन्तःशुल्क (१४.४ प्रतिशत) रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः २७.७ प्रतिशत, २१.८ प्रतिशत, १८.४ प्रतिशत र १३.२ प्रतिशत रहेका थिए । 

नेपाल राष्ट्र बैंकका अनुसार गैर–कर राजस्व परिचालन २२.९ प्रतिशतले वृद्धि भई ६१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष गैर–कर राजस्व १०.८ प्रतिशतले वृद्धि भई ४९ अर्ब ९० करोड रुपैयाँ पुगेको थियो । कुल राजस्वमा कर राजस्वको अंश ८७.३ प्रतिशत र गैर–कर राजस्वको अंश १२.७ प्रतिशत रहेको छ । त्यस्तै, कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३४.९ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कुल राजस्वमा कर राजस्वको अंश ८७.७ प्रतिशत र गैर–कर राजस्वको अंश १२.३ प्रतिशत रहेको थियो भने कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३२.४ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६७.६ प्रतिशत रहेको थियो ।