विगत एक वर्षमा नेपालमा विदेशी विनिमय सञ्चिति २६.१ प्रतिशतले बढेको पाइएको छ । २०७२ असार मसान्तमा ८ खर्ब २४ अर्ब ६ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति २०७३ असार मसान्तमा १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँ पुगेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ८ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको असार मसान्तको तुलनामा २६.२ प्रतिशतले बढी हो । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बढेको छ । हाल बैंकहरुसँग १ खर्ब ५२ अर्ब २० करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । कुल सञ्चितिमध्ये छिमेकी मुलुक भारतको मुद्रा मात्रै २१.४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७२÷७३ को आयातलाई हेर्ने हो भने बैकिङ्ग क्षेत्रसँग रहेको उक्त विदेशी विनिमय सञ्चितिले १६.५ महिनाको वस्तु आयात धान्न सक्छ भने १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । गत वर्ष विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका छन् । २०७२ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ३८.९ प्रतिशत, ९३.३ प्रतिशत र ४३.९ प्रतिशत रहेका थिए ।