सुर्योदय लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) खुलेको छ । स्याङ्जाको पुतली बजारमा मुख्य कार्यालय रहेको संस्थाले कुल शेयरमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी रहेको एक लाख ९ हजार २ सय कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने बताइएको छ ।
कसरी दिने आवेदन ?
लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । ईच्छुक लगनीकर्ताले कम्तीमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँ र वढिमा १ हजार कित्ता अर्थात १ लाख रुपैयाँसम्मको आवेदन दिन सक्छन् । शेयर निष्काशन छिटोमा भदौ १५ र ढिलोमा २६ गतेसम्ममा बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको साधारण शेयरका लागि ग्लोबल आइएमई क्यापिटल, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, रानीकुवा, लमजुङ्, मल्लाज र पर्वत शाखा, ग्लोबल आइएमई बैंकको उपत्यकाका कान्तिपथ, सिनामंगल, सुकेधारा, पुल्चोक,नख्खु, सूर्य्विनायक र बनस्थलि शाखा बाट आवेदन दिन सकिनेछ । साथै, उपत्यका बाहिर पोखराको न्यूरोड, हेटौडा, विराटनगर, नेपालगंज, विर्तामोड र ज्योति विकास बैंकका केही शखाहरु पनि आवेदनका लागि खुला गरिएको छ ।
हाल २ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्ने छ । अघिल्लो आर्थिक वर्षमा ५५ लाख ८३ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ४९ लाख ६९ हजार रुपैंया खुद नाफा कमाएको छ ।