Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोरोना बीमाको भुक्तानी रोकियो ? अब के हुन्छ ?

२०७८ श्रावण १९ गते

बैंकिङ खबर/ सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुले पटक–पटक बीमा समितिमार्फत् दायित्व अनुसारको कोरोना बीमा दावी रकम माग गर्दा पनि सरकारले वेवास्ता गरेको भन्दै बीमा समिति र अर्थ मन्त्रालयलाई औपचारिक रुपमा जानकारी गराएका हुन् ।

यसअघि निर्जीवन बीमा कम्पनीहरुले गर्ने कोरोना बीमाको भुक्तानी पूलमार्फत् कम्पनीहरुले गरिरहेका थिए । गत वर्षको बैशाखबाट बीमा समितिले निर्जीवन बीमा कम्पनीमार्फत् कोरोना बीमा लेख बिक्री शुरु गरेको थियो । सोको म्याद गत असार मसान्तमै सकिसकेको छ । कोरोना बीमा लेख १८ लाख बीमितले खरिद गरेको र सो वापत करिब १ अर्ब रुपैयाँ प्रिमियम संकलन भएको नेपाल बीमक संघले जनाएको छ । बीमा लेख बिक्री शुरु भएको केही महिनापछि नै समितिले दावी भुक्तानीको दायित्व बाँडफाँड गरेको थियो । कोरोना बीमा लेख बिक्री शुरु भएपछि अर्थ मन्त्रालयमा ३ जना मन्त्रीहरु आइसकेका छन् । तर बजेटमा नै अनुदान छुट्याएर गरिएको कारोना बीमा दावी भुक्तानीको दायित्व वहन गर्न भने मन्त्रालयले आलटाल गर्दै आएको छ । सरकारले नै अनुदानमा गराएको कोरोना बीमाको समेत प्रिमियम वापत कम्पनहिरुले करिब ५० करोड रुपैयाँ पाउन सकेका छैनन । गत भदौमा कोरोना बीमा निर्देशिका जारी गर्दै समितिले दावी भुक्तानीको दायित्व एक अर्ब रुपैयाँसम्म कम्पनीमा, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म नेपाल पुनर्बीमा कम्पनीमा, २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्म कम्पनीहरको महाविपत्ती कोषबाट र २ अर्ब ५० करोडदेखि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दावी भुक्तानी दायित्व बीमा समितिमा रहने उल्लेख गरेको छ । सोभन्दा माथिको दावीको दायित्व भने नेपाल सरकारको रहने बीमा समितिद्वारा जारी कोरोना बीमा निर्देशिका २०७७ मा उल्लेख छ । सो निर्देशिका जारी गर्नुअघि समितिले अर्थमन्त्रालयसँग दायित्व बहनबारे छलफल गरेको समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवि चापाँगाइले सार्वजनिक कार्यक्रमहरुमा भनेका थिए । अर्थमन्त्रालयले समेत गत वर्षको असार १८ गते नै समितिको प्रस्तावलाई सहमति दिइसकेको थियो ।

अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बीमा समितिलाई पत्र पठाउँदै सामूहिक कोरोना बीमा गरराउँदा ५० प्रतिशत प्रिमियम उपलब्ध गराउने र दावी भुक्तानी ३ अर्ब ५० करोड रुपैयाँ माथि पुगेको हकमा दायित्व सरकारले लिने सहमति दिएको थियो । मन्त्रालयलाई पुलमार्फत् समितिले पटक पटक दावी भुक्तानीका लागि पत्राचार गर्दा समेत त्यसको जवाफ नपाएका हुँदा दावी भुक्तानी स्थगन गरिएको नेपाल बीमक संघले जनाएको छ ।

साढे १३ अर्बको कोरोना बीमा दावी

हालसम्म कम्पनीहरुमा करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबरको कोरोना बीमा दावी परिसकेको बताइएको छ । जसमा ५ अर्ब रुपैयाँ बढी कोरोना दावी भुक्तानी भइसकेको छ । भुक्तानी गरिएको मध्ये ३ अर्ब ५० करोड रुपैयाँ कोरोना बीमा निर्देशिका अनुसार भएको हो । संघका अनुसार कोरोना दावी भुक्तानी वक्यौता करिब पौने १० अर्ब रुपैयाँ रहेको छ । बीमा कम्पनीहरु, पुनर्बीमा र बीमा समितिले आफ्नो दायित्व वापतको रकम पूलमा पठाइसकेका छन् । पूलबाट पटक–पटक गरी अर्थमन्त्रालयमा ७ अर्ब ५४ करोड रुपैयाँ कोरोना बीमा दावी वापतको रकम पठाउन पत्राचार गरिसकेको संघले जनाएको छ ।

हस्ताक्षरसहितकाे पत्र पठाइयो
सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर बीमा समितिमा कोरोना बीमाको दाबी स्थगित भएको भन्दै पत्र पठाएका छन् । नेपाल बीमक संघले २० वटै निर्जीवन बीमा कम्पनीहरुका प्रमुखहरुको हस्ताक्षर सहित उक्त पत्र पठाएको हो ।
बीमितले सधै कोरोना बीमाको दाबी भुक्तानीका लागि कम्पनीमा आएर आक्रोस पोख्ने तथा धम्क्याउन थाले पनि अन्य काम गर्न पनि नसकिने अवस्था भएको उनीहरुको भनाइ छ । नेपालमा कोरोना संक्रमितको दर विस्तारै बढ्न थाले पछि बीमा कम्पनीहरुले यो पोलिसी बन्द गर्न संयुक्त रुपमा ज्ञापन पत्र बुझाए । तर सरकारले बजेटमै कोरोना बीमाको योजना समावेश गरिएको भन्दै बन्द नगर्न निर्देशन दिएको थियो ।