२०७३ भाद्र १० गते

यसकारण घट्यो सुनचाँदी धितो कर्जा

goldपछिल्लो समय सुनको भाउ अस्थिर भएसँगै सुनमा  बैंकहरूले गर्ने लगानीमा  पनि सामान्य गिरावट आएको छ । हाल बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा प्रवाह गर्ने कर्जा तुलनात्मक रुपमा घटेको छ ।

आर्थिक वर्ष ०७१/७२मा बैंकहरूले सुनचाँदि धितो कर्जामा ३१ अर्व लगानी गरेका थिए,भने आर्थिक वर्ष ०७२/७३मा जम्मा ३० अर्ब ६६ करोड रुपैयाँ मात्र लगानी गरेका छन् । एक वर्षयता बजारमा सुनको भाउ अस्थिर रहँदै आएको छ । २ वर्षअघि सुनको भाउ ६२ हजार रुपैयाँसम्म पुगेकोमा घटेर ४८ हजार रुपैयाँसम्म झरेको थियो । हाल फेरि बढेर ५८ हजार रुपैयाँ हाराहारी छ ।

बैंकहरुले सहज प्रक्रियाबाट कर्जा दिने भएकाले सर्वसाधारणले आफूलाई अप्ठेरो पर्दा गर्जो टार्न सुन धितो राखेर कर्जा लिने गरेका छन् । नगद सरह मानिने, लगानी सुरक्षित हुने र जोखिम पनि कम हुने भएकाले बैंकहरूले यसलाई प्राथमिकता दिएर कर्जा दिएका हुन् ।

अझ विगतका वर्षहरुमा बैंकहरुको मुख्य लगनी नै सुनचाँदि धितो कर्जा थियो । पछिल्लो पटक कर्जा विकल्पहर शेयर, घरजग्गा शैक्षिक प्रमाणपत्र आदिले सुन धितोलाई सामान्य रुपमा प्रतिस्थापन गर्दै आएका छन् । बैंकहरुले सुन धितोमा कर्जा लगानी गर्दा बजार मूल्यका आधारमा धितो मूल्यांकन गरी ग्राहक हेरेर ५० देखि ७०  प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन् । मुल्य तलमाथी हुँदा मूल्यांकनसमेत कम भएकाले लगानीमा प्रभाव पर्ने बैंकर्सहरुको भनाइ छ ।

बैंकिङ पहुँच नभएसम्म सुन पसलमै सुन धितो राखेर कर्जा लिने गरेका सर्वसाधारणहरू क्रमिक रुपमा बढ्दै गएको वित्तीय साक्षरताको पहुँचसँगै बैंक तथा वित्तीय संस्थामा आकर्षित हुन थालेका छन् । सर्वसाधारणले सुनलाई बचतका रूपमा किन्ने र आफूलाई अप्ठेरो पर्दा त्यही धितो राखेर ऋण लिने प्रचलन छ ।

पछिल्लो समयमा लागु गरिएका धितोका विकल्पहरु जस्तै, घरजग्गा, वित्तीय सम्पति र शैक्षिक प्रमाणपत्रहरुबाट ऋण लिनुपर्दा कर्जा प्रक्रिया झन्झटिलो हुने, कर्जा धितोका यस्ता विकल्पहरको मूल्यांकन गर्न समेत सरल नहुने र यसमा ब्याज पनि सस्तो हुने भएकाले सर्वसाधारणहरु यसतर्फ आकर्षित भएका हुन् ।