Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन् साताभरका चर्चित बैंकिङ समाचारहरु

२०७३ भाद्र १० गते

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साताको बुधबार नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पुँजीवृद्धिको योजना पेश गर्न निर्देशन दियो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

नेपाल राष्ट्र बैंकका निर्देशन
नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना पेश गर्न निर्देशन दियो । ०७५ असारमसान्तभित्र पुँजी वृद्धि तोकिएअनुसार नगर्ने संस्थाको नगद लाभांश तथा बोनश घोषणा, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने प्रष्ट पारेको छ । साथै,  राष्ट्र बैंकमा पूँजीयोजना बुझाएपछि सम्बन्धित कम्पनीले सर्वसाधारणको जानकारीका लागि आआफ्नो वेभसाइट मार्फत पूँजी योजना सार्वजनिक गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनी र मनि चेन्जर कम्पनीलाई पनि चुक्तापूँजी बढाउन निर्देशन दियो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त बैंकहरुले ऋणीहरुको हितका लागि छुट्टै कोष खडा गर्ने तयारी थाले । नेपाल राष्ट्र बैंकले सेयर धितोमा दिइने मार्जिन लेन्डिङमा कडाइ गर्यो । साताको मंगलबार नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्यो । 

पुँजी बजार सुधारका कदमहरु
नेपाल स्टक एक्सचेञ्ज नेप्सले अक्सन कारोबार कार्य्विधि, ट्रेड ग्यारेन्टी फण्ड विनियमावली र सूचिकरण विनियमावली तयार गरी स्वीकृतिका लागि धितोपत्रबोर्डमा पठायो । त्यस्तै, नेप्सेमा सूचिकरण भएका कम्पनीलाई समयमै सूचिकरण नविकरण शुल्क बुझाउन आग्रह गर्यो । नेपाल धितोपत्र बोर्डले नगद लाभांस तथा शेयर नपरेको रकम फिर्ता भुक्तानी बैंक खाता मार्फत गर्ने सम्बन्धमा सम्पूर्ण शेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धक तथा सुचिकृत कम्पनीहरुलाई कडा निर्देशन जारी गर्यो । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई तीन दिन भित्र सेवा प्रदान गर्न निक्षेप सदस्य तथा शेयर रजिष्ट्रारहरुलाई ९ बुँदे निर्देशन दियो । 

शेयर निष्काशन तथा वितरण
हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २२० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गर्यो । सानिमा माइ हाइड्रोपावर लिमिटेडले शतप्रतिशत अर्थात १ बराबार १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । ंयसै साताको आइतबारदेखि आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता साधारण शेयर (आईपीओ) खुल्यो भने विहीबारदेखि बन्द भयो । सेञ्चुरी कमर्सियल बैंकको एक सय रुपैयाँ अंकित दरका ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरका ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद शेयर पनि आइतबारदेखि नै खुल्यो । साताको बुधबार दिव्यश्वरी हाइड्रोपावर कम्पनीको साधारण शेयर बाँडफाँड भयो । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ४१ प्रतिशत लाभांस दिने घोषणा गर्यो । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ६ दशमलब ३१५७ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । वाग्मती डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १४.७४ प्रतिशत लाभांश दिने घोषणा गर्यो । काष्ठमाण्डप डेभलपमेन्ट बैंकले ४ बरावर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढायो ।   

शाखा, सेवा तथा प्रविधि विस्तार
काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई प्रभु बैंकले शैक्षिक कर्जा उपलब्ध गराउसम्बन्धि सम्झौता गर्यो । प्रभु बैंकले सिन्धुली जिल्लास्थित सिन्धुली बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी बुधबारदेखि सञ्चालनमा ल्यायो । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले  बेलौरी नगरपालिकाको बेलौरी बजारमा आफ्नो ९औँ शाखा संचालनमा ल्यायो । राष्ट्रिय वाणिज्य बैंकल आरबीबी स्मार्ट बचत सेवा शुरु गर्यो । सानिमा बैंकले ग्राहक महानुभावहरुको थप सेवा र सुबिधाको लागि भिसा डोमेस्टिक क्रेडिट कार्ड प्रयोगमा ल्यायो । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा आफ्ना शाखा कार्यालयहरु विस्तार गर्यो । 

अन्य
भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्विकृत पाए । निक्षेप तथा कर्जा सुरक्षण निगमले ५० करोड रुपैयाँ लगानीका लागि प्रस्ताव माग गर्यो । अमेरिकी डलर अभाव कम गर्न नबिल बैंक, नेपाल ईन्भेष्टमेण्ट बैंक, स्टान्डर्ड चार्टर बैंक नेपाल र हिमालयन बैंकले गृहकार्य थाले । गरिवी निवारण कोषले चालु आर्थिक बर्ष २०७३/७४ मा तीन अर्ब ८२ करोड २८ लाख ६६ हजार रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गर्यो ।