
बैंकिङ खबर/बीमा समितिले कुनै पनि बहानामा उधारो पोलिसी जारी नगर्न सम्पुर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
यसअघि जीवन बीमा कम्पनीहरुले असार ३१ गते चेक क्लियरिङ गर्न समस्या पर्ने जनाउँदै क्लियरिङका लागि थप ४८ घण्टाको समय माग गर्दै आएका छन् ।
समितिले उधारोमा पोलिसी काट्न नपाउने व्यवस्था गरेकाले कुनै पनि बहानामा नगद रहित पोलिसी नकाट्न निर्देशन दिइएको बीमा समितिले जनाएको छ ।
बीमा कम्पनीहरुले एजेन्सी म्यानेजरहरुको टार्गेट पुरा गराउने तथा धेरै पोलिसी बिक्री भएको देखाउन उधारोमा पोलिसी काट्ने गरेको समितिले जनाएको छ ।
असार मसान्तमा पोलिसी काट्ने सोहि अनुसार सेवा सुविधा बुझ्ने तर साउन एक÷दुई गते उक्त चेक बाउन्स भएर पोलिसी लागु नहुने जस्ता बिकृति देखिएकोले यस्तो नियम ल्याइएको समितिले जनाएको छ ।
बीमा ऐन अनुसार पनि पुर्ण रुपमा प्रिमियम प्राप्त नभइ पोलिसी लागु नहुने व्यवस्था भएकाले नगद रहित पोलिसी मान्य नहुने समितिको ठहर छ ।
नियम अनुसार एक लाख भन्दा माथिको प्रिमियम भुक्तानी गर्नु पर्यो भने चेकबाटै भुक्तानी गर्नु पर्ने बाध्यात्मक व्यवस्थाले पनि समस्या सिर्जना गरेको उनिहरुको गुनासो राख्दै आएका छन् ।


