२०७३ भाद्र ९ गते

क, ख र ग वर्गका बैंकलाई लगानी गर्ने अवसर : यस्ता छन् सर्तहरु

laganiनिक्षेप तथा कर्जा सुरक्षण निगमले ५० करोड रुपैयाँ लगानीका लागि प्रस्ताव माग गरेको छ । निगमले एक वर्षिय मुद्धती निक्षेपको रुपमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई रकम लगानी गर्न प्रस्ताव माग गरेको हो । 

कस्ता बैंकले लगानी गर्न पाउँछन् ?
भदौ ८ गतेदेखि १८ गतेसम्म बैंक तथा फाइनान्स कम्पनीहरुले आफूले लगानी गर्न चाहेको रकम र व्याज उल्लेख गरी प्रस्ताव पेस गर्नुपर्ने निगमले जनाएको छ । लगानीका लागि आह्वान गरिएको कुल रकममध्ये, वाणिज्य बैंकहरुले ४५ करोड, विकास बैंकहरुले २ करोड ५० लाख र फाइनान्स कम्पनीहरुले २ करोड ५० लाख रुपैयाँ लगानीका लागि प्रस्ताव पेस गर्न सक्नेछन् । रकम लगानी गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, बर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात राष्ट्र बैंकले समयसमयमा तोकेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको र रियलस्टेटमा प्रवाहित कर्जा केन्द्रीय बैंकले तोकेको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ । 

साथै, लगानी गरिने संस्थाकाृ कुनै पनि सञ्चालक, सीईओ वा कार्यकारी सञ्चालकलाई केन्द्रीय बैंकले जरिवाना वा कारबाही भएको तीन वर्ष पूरा भएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा तीन महिना पूरा भएको, बैंक तथा वित्तीय संस्था राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको र समस्याग्रस्त घोषण भएको भए सो फुकुवा भएको छ महिना पूरा भएको हुनुपर्ने छ । त्यस्तै, रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीले सर्वसाधारणको लागि छुट्याएको सेयर जारी गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको हुनुपर्ने निगमले जनाएको छ ।