गरिवी निवारण कोषले चालु आर्थिक बर्ष २०७३/७४ मा तीन अर्ब ८२ करोड २८ लाख ६६ हजार रुपैयाँ लगानी गर्ने भएको छ । मंगलबार र बुधबार राजधानीमा सम्पन्न बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा कोषले आफ्नो योजना सार्वजनिक गरेको हो ।
कोषले नियमित ५५ र बिषेश कार्यक्रम सञ्चालित तीन गरि ५८ जिल्लामा उक्त रकम लगानी गर्ने जनाएको छ । कोषले यो बजेट दुई हजार पाँच सय ६२ आयआर्जन कार्यक्रम, दुई सय आठ सामुदायिक भौतिक पुर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था सञ्चालनमा खर्च गर्नेछ । भूकम्प प्रभावित १३ जिल्लामा पुनर्निर्माण बर्षका रुपमा प्राथमिकताका साथ कार्यक्रम अघि बढाउने लक्ष्य कोषले लिएको छ ।
यस बाहेक चालु आवमा आवद्ध सहयोगी संस्थाको संख्या कटौती, अधुरा योजना पुरा गर्ने, सामुदायिक संस्थाको परिपक्वताका आधारमा उनीहरुको दिगोपनाका बिभिन्न उपाय अपनाउने लगायतका लक्ष समेत राखेको कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिए ।
कोषले हालसम्म ५५ जिल्लामा २९ हजार सामुदायकि संस्था गठन गरि आठ लाख गरिब घरधुरीलाई समेटेको जनाएको छ ।



